ताप्लेजुङ । दुर्गम गाउँ ओलाङचुङगोलाका वडाध्यक्ष सहित ५ जना निर्वीरोध निर्वाचित भएको ताप्लेजुङमा थप ५ जना सदस्य निर्वीरोध भएका छन् ।
पछिल्लो समय निर्वीरोध हुनेमा १ महिला सदस्य र ४ दलित महिला सदस्य रहेका छन् । यो सहित ताप्लेजुङमा निर्वीरोध हुनेको संख्या १० पुगेको छ । पछिल्लो समयमा निर्वीरोध हुने ५ सदस्यमा काँग्रेसका ३,एमाले र माओवादी केन्द्रका १–१ जना रहेका छन् । दल केन्द्रित भएपनि फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष सहित ५ जनाले नै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । जिल्ला निर्वाचन कार्यालयले शुक्रवार राति प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार फुङ्लिङ नगरपालिका वडा नं ५ मा एमालेबाट उम्मेदवारी दिनु भएकी महिला सदस्य गंगा दर्नाल निर्वीरोध भएकी हुन् ।
काँग्रेसबाट सिरिङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशःसीतादेवी सार्की र लक्षीमाया बिक निर्वीरोध भएका हुन् । यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपमा काँग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्वीरोध भएकी हुन् । यस्तै मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी भएकी सरिता गहते दलित महिला सदस्यमा निर्वीरोध भएकी छिन् । भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए ।