पाँचथर ।स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा पाँचथर सदरमुकाम फिदिम नगरपालिकाको वडा नम्बर १ मा पनि चुनावी चहलपहल ह्वातै बढेको छ । सदरमुकामको वडा भएकाले पनि याे जिल्लाभरको राजनीतिक गतिविधिको केन्द्र हाे ।
दिनभर विभिन्न पार्टीका प्रचारात्मक गीत घन्किरहेका हुन्छन् । उम्मेदवारहरू नेता-कार्यकता र शुभेच्छुकसँग घरदैलो गरिरहेका देखिन्छन् । यहाँकाे वडाध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धन एकातिर छ भने नेकपा (एमाले), राप्रपा र राप्रपा नेपालबीच पनि चुनावी तालमेल भएकाे छ ।
राप्रपा र राप्रपा नेपालकाे साथ लिएर एमालेका गजाधार भट्टराई चौथो पटक वडाध्यक्ष पदमा भिड्दै छन् । रोचक त के छ भने दुईवटा निर्वाचनका प्रतिस्पर्धीका छोरासँग उनको भिडन्त हुँदैछ । २०५४ र २०७४ सालमा भट्टराई नेपाली कांग्रेसका हर्क मोक्तानसँग हारेका थिए । अहिलेकाे चुनावमा तिनै मोक्तानका छोरा सन्ताेषसँग उनकाे भिडन्त हुँदैछ ।
२०५४ सालमा ६ र २०७४ सालमा ५ मतले हारेका भट्टराई हर्कको निधन भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा विजयी भएका थिए । पहिलोपल्ट उम्मेदवार बनेका सन्तोष बुवाको जितको इतिहासलाई दाेहाेर्याउने दाउमा छन् भने भट्टराई जितलाई निरन्तरता दिन प्रयास गरिरहेका छन् । २०७४ को निर्वाचनमा मोक्तानले ७ सय ७४ र भटराईले ७ सय ६९ मत प्राप्त गरेका थिए । उपनिर्वाचनमा भने तत्कालीन नेकपाबाट चुनाव लडेका भटराई ४ सय ७४ मतान्तरले विजयी भएका थिए ।
अहिले नेकपा टुक्रिएर एमालेसहित नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी अस्तित्वमा छन् । यहिबेला पुराना प्रतिस्पर्धीका छोरासँग भटराईको प्रतिस्पर्धा हुन लागेकाे हाे ।