तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङमा गयराति गठबन्धन र नेकपा एमालेका कार्यक्रम बीच झडप भएको छ । एमालेका कार्यकर्ताहरूको आ’क्र’ मणबाट ३ जना घाइते भएका छन् ।
विकास श्रेष्ठ, मनिस बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । विकास श्रेष्ठ नेपाल तरूण दल तेह्रथुमका उपाध्यक्ष रहेको बताइएको छ ।
घाइतेहरूलाई थप उपचारको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प लगिएको छ ।घटनामा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमले नियन्त्रणमा लिएको छ । मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताए ।
मनबहादुर खड्का नेकपा एमाले हमरजुङका अध्यक्ष रहेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छथर गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस, माओवादी केन्द्र सहितको ५ दलीय गठबन्धन र नेकपा एमाले बीच कडा चुनावी प्रतिस्पर्धा हुदैछ ।