मोरङ ।मोरङको उत्तर पूर्वी गाँउपालिका मिक्लाजुङ-१ को बर्खेमा शंकास्पद वस्तु फेला परेको छ ।मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा प्लास्टिकले बेरेर राखिएको प्रेसर कुकर फेला परेको छ ।
विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा खतरा लेखेर छाडिएको प्रेसर कुकर फेला परेको हो। तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईले बताए। कुकर भेटिएको सडकमा दुईवटा बाँस पनि बर्साइएको छ। शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको राईले बताए।
प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ। अहिले सेनाको टोली घटनास्थलतर्फ जाँदैछ। घटनास्थल उर्लाबारीबाट ३२ किलोमिटर उत्तरमा पर्छ। गएराती पनि त्यस क्षेत्रमा विस्फोट भएको स्थानीयबासीले बताएका छन्।