मैत्रीपूर्ण खेलका राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगेको छ । नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते बस्रा रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । टोली मंगलबार राती त्रिभुवन विमानस्थलबाट दोहा हुँदै बुधबार स्थानिय समय अनुसार १०ः१५ बजे बस्रा पुगेको हो ।
२३ सदस्यीय खेलाडीसहित ३५ सदस्यीय टोली त्यहाँ पुगेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल पनि छन् । कुवेतमा हुने कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटमा भाग लिनु अघि मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यात्रामा निस्केको हो ।
मैत्रीपूर्ण खेलको भोली पल्ट जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने एन्फा जनाएको छ । त्यहाँ टोलीले ३ वटा विश्व कप र एसिया कप छनोटका खेल्नेछ । नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ ।
नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।
अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।