मनिसा आर्चाय
पाँचथर । शनिबार बिहानको खानापछि साथिको बुबालाई पक्षघातले पिरोलेको खबर सुनेर झापाको बिर्तासिटि हस्पिटलमा पुगेकी थिएँ । डाक्टर राउन्डिङमा आएपछि यसो गोजिबाट मोबाइल झिकेर फेसबुक खोलेँ । रिपोटर्स नेपालले तयार पारेको एउटा समाचारले फेसबुकको न्युज फिड पुरै भरिएको थियो ।
सिंहदरबारका बहालवाला सचिवले भनेका रहेछन् ‘सिंहदरबार भ्रष्टाचारको अखडा बन्यो राजिनामा दिएर हिडौ झै लाग्छ’ भनेको बिषयले अधिकांश युवाहरुले आक्रोशका साथ उत्त समाचार शेयर गर्नुभएको रहेछ । यो समाचार बिल्कुलै नौलो थिएन,तर अलिक पृथक भने पक्कै थियो किनभने आजका दिनमा ब्युरोक्राटमा रहेका ९० प्रतिशत कर्मचारिहरु नितिगत भ्रस्टाचारमा चुर्लुम्म डुबेको तथ्य पटकपटक हामिले नसुनेका ,नपढेका होइनौ ।
दिनप्रतिदिन यस्ता समाचार सुनिरहने मलाई यो समाचारले झन् भत्भति पोल्यो कारण अरु कुनै थिएन बस् सबै कर्मचारी कमाउ धन्दामा मात्रै लागेका छैनन्, कोहि त सच्चा राष्ट्रसेवक पनि छन् तर उनिहरु माइनोरिटिमा छन् र आफु कार्यरत संस्थाप्रति त्यहाँका सहपाठिको नियत देखि किन यो हदसम्म आजित छन् ?
हस्पिटलदेखि कोठासम्म फर्किदा एकजना युवा नेतासग भेट भयो ,चिया पिउने सल्लाह भएर नजिकैको चिया पसलमा चिया अर्डर गर्यौ । राजनीतिसँग जोडिएको मान्छेसँगको भेटमा राजनीतिक समकालीन देशकाल परिस्थितिको बारेमा कुरा हुनु कुनै नौलो थिएन । कुराकानीकै क्रममा दाईले मलाई भन्नुभयो ‘नानि मलाई यस्तो ठाउँमा फसेजस्तो लाग्छ जहाँबाट उम्किन मनले मान्दैन, यहि ठाँउमा( राजनीति ) बसेर काम गर्न पनि मेरो एटिट्युडले दिदैन, बर्तमान राजनीति जुन खालको गलत ट्र्याकमा हिडिरहेको छ त्यसलाई अङ्गिकार गरेर सोहि खालको प्रवृत्तिको बिकास गर्न सकिन्न ,बरु बेलैमा युरोप गएको भए भबिस्य बन्थ्यो’ ।
दाइले वास्तविक रुपमा अन्तरआत्माबाट यि कुराहरु भनिरहनुभएको थियो । कुरा सुनिरहदा दाइका ५० प्रतिशत कुराहरुमा सहमति भएतापनि ५० प्रतिशत कुरामा मेरो असहमति थियो । फ्रस्टेसन हुनुभन्दापनि बिग्रेका कुराहरुलाइ सपार्न लागौ भन्नेमा मेरो जोड थियो ।
आखिर यि सबै कुराको जड भनेको गलत राजनीतिक ट्रेन्ड र नेताको नियत नै हो किनकि ‘पोलिटिक्स इज कमाण्ड’ भनेर त्यसै भनिएको होइन । समाजका प्रत्येक कुराहरू प्रत्यक्ष या परोक्ष रुपमा राजनीतिसँगै जोडिएका हुन्छन् ।
आम युवाको उद्देश्य ः
स्थानीय तहको निर्वाचन भर्खरै मात्र सकिएको छ । निर्वाचन ताका धेरै युवा साथिहरुसँग समाज र मुलुकका विभिन्न बिषयहरुमा विभिन्न कोणबाट पर्याप्त मात्रामा बहस गर्ने कुरा सुन्ने मौका मिल्यो । अझ भनौ ४० बर्षभन्दा मुनिका युवाहरुसगको भलाकुसारिमा मैले निकालेको निस्कर्ष केवल एउटा थियो ।
सारा युवाहरु परिवर्तनको पक्षमा छन् तर पार्टी फरक छ । उनिहरुको मागमा, इच्छामा समानता भेटिन्छ । उनिहरु देशलाई सुशासनयुक्त बनाउन, नागरिकका शिक्षा, स्वास्थ, रोजगारि, यातायात, खानेपानी, जनजिबिका जस्ता आधारभुत कुराहरुमा कुशल ब्यवस्थापनको जिम्मा राज्यले लिनुपर्ने ,बेल्चा नै चलाउनपरे पनि आफ्नै मुलुकमा चलाउने तर बिदेशमा गएर श्रम बेच्न पटक्कै रहर नभएको बताउछन् ।
यि सबै कुराको यथोचित प्राप्तिको निम्ति नेपालि राजनीतिक आकाशमा मडारिरहेको राजनीतिक अस्थिरताको गोलचक्करलाई सदाका निम्ति अन्त्य गर्दै स्थिर सरकारको निर्माण अपरिहार्य रहेको उनिहरुको बुझाइ छ । हिजो ब्यवस्था परिवर्तनका खातिर भएका आन्दोलनका उपर जनमानसमा छरिएको भ्रम गलत भएको युवाको बुझाइ छ ,उनिहरुका बिचारमा आन्दोलनका एजेन्डाहरु गलत पटक्कै नभएको तर ति एजेन्डा बोक्नेहरु स्वेत अहंकारी भएर आएको समस्या भएको भएर ऐतिहासिक जनयुद्ध र जनआन्दोलनहरुको महत्वलाई पुर्वाग्रहको बलमा टुइस्ट गर्न खोज्ने सबैप्रति उनिहरुको आक्रोश पनि थियो । जनताको स्वतन्त्रता भन्नेकुरा कसैले बाधेर बाध्न,रोकेर रोक्न र खोसेर खोस्न नसक्ने उनिहरुको बुझाइ छ ।
उनीहरु राज्यले दृष्ठि नपुर्याएको भनिएको कर्णालीमा ,मुलुककै एड्भान्स भनिएका शहरहरु धरान र काठमाडौमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्घारको जितको बिसयलाई सर्वोच्च महत्वपूर्ण दिएर हेरिरहेका छन् । उनिहरु प्रष्ट छन् राजनीतिदल हरुको बिकल्प राजनीतिक दलहरु नै हुन् तर युवा जमात आजका दिनमा राजनीतिक दलका ब्यक्तिको प्रवृत्तिमाथि किन आजित र निराश छ भन्नेकुरा स्पष्ट छ । बालेन र हर्कहरुको बिजय भनेको अन्तिमपटक दलहरु नवीकरण हुने मौकाको रुपमा राजनीतिक पार्टीहरुले लिएनन् भने राजनीतिक दलहरुको अस्तित्व नै खतरामा पर्ने कुरा आज जनसंख्याको सबैभन्दा बढि हिस्सा ओगट्ने युवाहरूले नै भनिरहदा नकार्न सक्ने अवस्था भने पटक्कै छैन ।
मार्क्सबादमा उल्लेख भएजस्तै ‘बिद्रोह जनताको अधिकार हो र जनताले कुनैनकुनै रुपमा बिद्रोह गर्छन्, कसैको एकाधिकारलाई मान्दैनन्’ भनेझै आजको युवा एकाधिकार रुचाउदैन किनभने बिज्ञान र प्रबिधिको युगको बिकाससँगै ब्यक्तिको चेतनाको क्षेत्रफल दिनप्रतिदिन फराकिलो बन्दै गइरहेको अवस्थामा युवाहरु कुरिति, कु–सस्कार ,जातिय बिभेद,सामाजिक बिभेद,लैङ्िगक बिभेद ,अधिकार र तिनको प्रासंगिकतामा समेत बहस गर्न सक्ने ल्याकत मात्रै राख्दैनन् उनिहरु बिश्वको राजनीति इतिहास, बर्तमानको अवस्था, सुचना र प्रबिधिले मानव जगतमाथि गरेको हस्तक्षेप, इन्टेलेक्चुवल इन्टेलिजेन्सि, जियो पोलिटिक्स लगायतका तमाम बिसयमा ज्ञान राख्दै आफुलाइ त्यतातिर समाहित गराउन लैस छन् ।
यस्तो अवस्थामा रहेका युवाले कसैको एकाधिकारपुर्ण ब्यवहार र नियतिलाई सहर्ष स्विकार गर्दै अाँखामा पट्टि बाधेर र कानमा तेल हालेर बस्न सक्ने अवस्था छैन । आजको युवा अद्भुत रुपमा आलोचनात्मक चेत राख्छ तर अघिल्लो पुस्ताले युवाको यो चेतलाइ बेकारको उत्ताउलोपनाको ट्याग लगाएर आफ्नो नजरमा युवाहरू पर्न र उनका कुरा सुन्न नसक्नु दुर्भाग्यपूर्ण हो । जनताको जनमतले सिञ्चित भएका जनप्रतिनिधिहरुलाई उनिहरु सचेत रहन बारबार खबरदारि गरिरहन्छन् । चुनाव जित्नुमात्रै ठुलो कुरा होइन, चुनाव मात्रै त हिजो पञ्चेहरुले पनि जित्थे भन्ने उनिहरुको बुझाइ छ । त्यतिमात्रै होइन युवाको सेन्टिमेन्टलाइ पुरानो पुस्ताले क्याचअप गर्न नसक्नु र युवा पुस्तालेपनि नया कुरा जनतासमक्ष बुझाउन नसकेको सत्य पनि उनिहरु स्विकार्छन ।
आजको समस्या ः
राजनीतिले नै सबैकुराको कमाण्ड गर्छ । भनिरहदा आजभोलि समुदाय भन्दा राजनीतिक दलको एउटा नेता शक्तिशाली बन्दै जाने प्रवृत्ति छ । जुन एकदमै गलत हो । जनता समुदायलाई त्यतिबेला मात्रै शक्तिशाली मानियो जतिबेला चुनाव आउँछ । उनिहरुले आफु नागरिक भएको प्रत्याभुती गर्न चुनाव नै कुर्नुपर्ने समय आयो । मुलुकमा ब्यवस्थामा ड्रास्टिकल्लि परिवर्तन भयो ।
तर हुनेखाने जनताले परिवर्तनको अनुभुतिमा कायापलट खासै पाएका छैनन् । हुनेहरु दिनप्रतिदिन झन्झन् शक्तिशालि बन्दै गए नहुनेहरु जहाँको त्यहि हुनु दुःखद हो । सबै पार्टीहरु पिरामिडको आकारमा दिनानुदिन बिकसित हुँदै गए । राजनीतिक दलहरुको प्रतिनिधित्व गर्ने सबै नेताहरुले बिकास र समृद्धिको कुरा गरेर थाक्दैनन तर झट्ट हेर्दा समृद्धि त ति ब्यक्तिहरुको भएको छ , जो सत्ताको वरिपरि घेरा लाएका छन् उनिहरुको एउटा घरमा प्रत्येक सदस्यको चारचक्के गाडि हुँदा सर्वसाधारण जनता ४ घन्टासम्म बस पर्खन बाध्य भएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन ।
गरीबका छोराछोरीले निजि बोर्डिङ पढ्नु,समयमै शैक्षिक सामाग्रीको पर्याप्त मात्रामा सदुपयोग गर्न पाउनु,गरिबले नचुहिने छानाको ओतमा बस्नु, समयमा स्वास्थोपचार पाउनु, बिहानबेलुको छाकको बारेमा प्रताडित हुनु नपर्नु त केवल सपना जस्तो बन्यो । शिक्षा जस्तो संबेदनसिल बिसयमा राज्य कति निरिह छ भन्ने कुरा त्रिभुवन बिश्वबिद्धालय ठप्प भएको गतिलो प्रमाण हाम्रै आँखा अगाडि झल्झल्ति छ ।
ठुला– ठुला निजि बोर्डिङ स्कुलका संचालकहरुनै रोस्टममा गएर समाजबादको कुरा गर्छन् भ्रस्टाचारको डङ्गुरभित्र चुर्लुम्म डुबेका नेताहरुनै सुशासनका चर्को नारा लाएर थाक्दैनन,महिलाहरुलाइ सधै साधनको रुपमा हेर्ने र बारम्बार उनको क्षमता र निरंतरता माथि प्रश्न उठाउने र अबिश्वास गर्नेहरुनै समानुपातिक समाबेशिताका कुरागरेर थाक्दैनन ,बुर्जुवा सोचको दलदलबाट उम्कनै नसक्ने गरि जाकिएको मान्छे प्रगतिशील कुरा गरेर कहिल्यै अघाउन्न यो नै हाम्रा लागि अभिसाप हो ।
नेताहरुको प्रवृत्ति यतिबढि प्रतिकुल भयो उनिहरुले गल्ति भण्डारण गर्ने ठाउँसमेत नराखि गल्तिहरु गरिरहदा पछाडी फर्केर हेर्ने सुझ नआएकै हो । यसो हुनुको पछि समस्या बिचार र चिन्तनमा मात्रै नभएर इच्छाशक्ति र जवाफदेहिता र पारदर्शितामाथिको हेलचेक्र्याइ पनि हो । यतिकुरा गरिसकेपछि कृषि क्षेत्रको पनि कुरा गरौ ।
नेपाललाई समृद्ध त्यतिबेला बनाउन सकिन्छ जतिबेला कृषिमा आधुनिकीकरण सहितको कायापटल हुन्छ भन्ने कुरा सबै कन्भिन्स भएकै हो । तर आज किसानले मल नपाएर छट्पटीएको कुरा, किसानले स्वदेशमै फलाएको टमाटर, प्याज, लसुन, तरकारि, दलहन जस्ता अत्यावश्यक वस्तुहरुले भाउ नपाएको कुरा, खसिबाख्रा पालन गर्ने किसानले स्वदेशमा बजार नपाएको तर यो बर्स मात्रै ९ अर्बको खसि नेपाल भित्र्याइएका समाचार, उद्योग क्षेत्र दुखले स्वास फेर्दै गरेका कुरा समग्रतामा नेपाली जनताका लागि दुखका बिसयहरु हुन् ।
चुनावको सन्दर्भम कुरा गर्नुपर्दा पछिल्लो समय ब्यक्ति आफु बाचिन्जेल लाभका पदमा बसिरहन खोज्ने,चुनावमा एजेन्डामा प्रतिस्पर्धा होइन कस्ले बढि खर्च गर्ने भन्ने प्रतिस्पर्धा हुन थाल्यो । एकथरी मान्छेहरु नेताको वरिपरि घुमेर कसरि हुन्छ बढि भन्दा बढि कमाउने, नेता समातेर नेता भैइन्छ भन्ने दास मानसिकताबाट ग्रसित भएको छर्लङ्ग छ । यस्तो खालको मान्छेले मान्छेकै अधिकतम उपयोग गरेर इन्डिभिजुवल हिरो हुने कल्चर भन्दा माथि नेपाली राजनीति उठ्न कति समय लाग्ला यो बिचारणिय छ ।
अबको बाटो ः
जसरि ०३६/३७ सालमा मानिसहरुमा मुलुकलाई नयाँ ब्यवस्थामा विकसित गर्दै लैजाने हुटहुटिका दनदनी ज्वारभाटाहरु झै निस्किएको बैचारिक उर्जा,०५२ सालको जनयुद्धमा गणतन्त्रलाई केन्द्रबिन्दुमा राखेर तय गरिएको लडाइको स्वतस्फूर्तिपना, त्याग, बलिदानि, आन्दोलनको मक्सदप्रतिको डेडिगेसन, परिवर्तनका लागि सहर्ष मृत्युको सर्वस्विकार्यता जति निस्वार्थ थियो त्यसैगरि अहिलेका सबैखालका बैचारिक,सामाजिक,सांस्कृतिक आन्दोलनहरु निः स्वार्थ बनाउन सुरुवात गर्नुपर्ने देखिन्छ ।
गल्ति दुई प्रकारका हुन्छन् एउटा नियतबस गरिने गल्ति र अर्को अन्जानमा भएका गल्तिका बिसयमा चाहे आफ्नो पार्टीको प्रतिनिधि होस या फरक दलको होस उसको नियतबारे प्रश्न गर्दै निरन्तर सँगै रहेर खबरदारी र राम्राकामको पक्षपोषण आजको युवा जमातले गर्नुपर्ने स्पष्ट छ ।
सबैभन्दा पहिलो चरणको र अत्यावश्यक क्रान्ति भनेको सांस्कृतिक क्रान्ति भएकाले यसको बृहत परिभाषाले ओगट्ने सबै बिसय र क्षेत्रमा बिद्रोहको सुरुवात इस्यु बेस्डमा होइन होलिस्टिक रुपमा समाजमा रहेका प्राज्ञिक, बौद्धिक, सिर्जनशील बर्गले यसको नेतृत्व गर्दै यसलाई उचाईमा पुर्याउनका निम्ति होस्टेमा हैसे गर्नुपर्छ । चिन्तनमा समानता भएका ब्यक्तिहरुको समुहबाट प्रगतिशिल समाजको निर्माणमा टेवा पुग्ने भएकाले युवा बर्गले अरुको बाटो हेर्ने भन्दा पनि आफुले सक्दो आफ्नै ठाउँबाट सबैलाई सु–सुचित हुन प्रेरणा दिनुपर्छ ।
युवाबर्गले अरुको आस गर्ने भन्दापनि कम्तिमा श्रम गर्ने बानिको बिकास गर्नुपर्छ चाहे त्यो खेतबारीमा या कार्यलय मै किन नहोस् किनभने हामिले आजको बिज्ञानको युगमा उत्पादनको प्रक्रियाको सुरुवात र बिकास दुबै गर्नुछ ,समाजबादका सुन्दर बिशेषताहरुलाइ जोगाउदै समाजबादि यात्रालाई धान्नु मात्रै छैन लोभ पाप र ईष्र्या भन्दा माथि उठेर मुलुकलाई समुन्नत बनाउनु छ । समाज सापेक्ष कर्म गरेर तमाम बिकृति र बिसङ्गतिमुक्त समाजको नयाँ स्वरुप निर्माण गर्दै कुरितिका जिर्ण स्तम्भहरुलाइ ढाल्नु पनि छ ।
आज पनि इतिहास पढौ आज हामि यहाँ सम्म आइपुग्दा जतिजति क्रान्ति र नयाँ काम भएका छन् ति सबैको नेतृत्व गर्ने मानिसहरु ४० बर्षभन्दा कम उमेरका छन् जस्तै ः कार्लमाक्सले कम्युनिस्ट घोषणापत्र लेख्दाको उमेर, अल्बर्ट आइन्स्टाइनले गरेका अबिस्कारको समय, म्याडम क्युरिले रेडियम पत्ता लगाउदाको उमेर मात्रै होइन मलाला युजफुजाइले बाल बिवाहका बिरुद्धमा गरेका तमाम क्रान्ति ४० बर्ष मुनिकै थिए ।
अब ब्यक्तिको प्रायोरिटि होइन समुदायको प्रायोरिटिबारे सोचौ, सिद्धान्तमा ओरियन्ट भएर काम गरे कसो परिवर्तन नहोला । हामि त समाजबादका यात्री हौ त्यसैले गिन्नी को–इफिसेन्ट यानिकि मबादलाई पर सारेर फृडेल क्यास्ट्रोले भनेझै हामि भन्न थालौ । आज बिश्व दुई औलाले चल्ने ठाउँमा पुगेको अवस्थामा बिज्ञान र प्रबिधिका बारेमा बेखबर हुने छुट कसैलाई नभएकोले राष्ट्रको बृहत्तर बिकासका निम्ति सबै सचेत र जिम्मेवार बनौं । अब युवा पुस्ताले गाँड कोराकोर गरेर बस्ने भन्दा पनि हिजो हाम्रा पुर्खाहरुले मार्क्सबादको सहायताले सामन्तबाद ढालेजस्तै हामिले त्यहि मार्क्सबादको सहायताले समाजबादको यात्रामा अगाडि बढांै ।
चुनाव देखि चुनाव सम्मको चुनावी मेनोफेस्टले पुनः त्यहि चुनाव भन्दा अगाडी बढ्न नसकिने भएकाले समृद्ध नेपालको चौतर्फी गुन्जायस हामिले नै गराउने र हाम्रै पालामा गर्ने हो भने नेपालको राजनीतिमा युवा नेतृत्व होइन, सचेत युवा नेतृत्वको खाँचो छ । युवा चेतनामा नवप्रवर्तनको खाँचो छ । अध्ययनशील, वैचारिक, तार्किक र बौद्धिक युवाहरूको खाँचो छ जसले सहीलाई सही र गलतलाई गलत देखोस् । जसले माथिल्लो तहको नेताको कुकृत्यविरुद्ध खुलेर बोल्न सकोस्, पदको होइन विचारको राजनीति गरोस् र राजनीतिमा आउन चाहने धेरै युवालाई राम्रो सन्देश दिन सकोस् । अनि पो सम्भव छ हामिले देखेको समृद्ध नेपाल ।