सरला रेग्मी ,
पाँचथर । उपत्यका जस्तै देखिने पाँचथर जिल्लाको एकमात्र नगरपालिका फिदिम हो । पाँचथर जिल्ला कृषि, पर्यटन र व्यवसायिक दृष्टिबाटपनी पुर्वमा परिचित जिल्ला हो । माथी डाँडा बाट हेर्दा सुन्दर उपत्यका जस्तै देखिन्छ । २०६६ साल अगाडि टिनका छाना, कच्ची घर देखिएको बजार, २०६६ पछि पक्की र बाक्ला घरले व्यवस्थित बजार भएको छ । बजार मात्र व्यवस्थित भएको छैन, व्यवसाय गर्ने पनी परिवर्तन हुँदै छन् ।
फिदिममा बसोबास गर्नेको मुख्य पेशा व्यवसाय नै जस्तो देखिएको छ । कुनै समय कृषि प्रमुख, दोस्रो जागिर अनि मात्र व्यवसाय भएपनी, अहिले जिविकोपार्जनका लागि उत्तम व्यवसाय नै प्रमुख रहेको छ । व्यवसायले लाखौंको जीवन परिवर्तन गरेको छ । फिदिममा नवनिर्मित घरहरु अधिकांस व्यवसायिक प्रयोजनले बनाएको देखिन्छ । सदरमुकाम हुनु र सरकारी अड्डा यहीँ भएको कारणपनि फिदिमसँग जोडिएका गाउँका बासिन्दा बजार भर्न फिदिम नै केन्दित भएको कारण फिदिम बजार व्यवसायिक हब बन्दै गएको हो ।
महिलाहरू पहिलो घर धन्दा, दोस्रो कृषि पेशा र त्यो पछाडी केही जागिरमा सिमित रहेका थिए तर अहिले व्यवसायीकतामा निकै जम्दै गएको देखिन्छ । पहाडी परिबेसमा महिला घरधन्दा सकेर बारिका काममा देखिन्थे कि त श्रीमान वैदेशिक रोजगारी अनि महिला छोराछोरी पढाएर बस्ने गर्थे । हिजो पुरुषले मात्र व्यवसाय गर्थे । तर अहिले महिलापनि यो पेशामा आकर्षित भएको देखिन्छ । महिलाको व्यवसायिकरणमा उलेख्य उपस्थिति मान्न सकिन्छ । घरेलु तथा साना उद्योग कार्यलयमा पाँचथरमा ३ हजार ६ सय ३० र पाँचथर उद्योग बाणिज्य संघमा ६ सय १४ महिला द्वारा संचालित रहेको छ । यो दर्ता गरेको संख्या भए पनि दर्ता नगरी व्यवसाय संचालन गर्नेको संख्या पनि उलेख्य छ । व्यवसायमा आर्थिक पार्जनका लागि अहिले महिलाको उपस्थिती बाक्लो छ । महिलाहरु पनि व्यवसायिक हुँदै छन् । कस्मेटिक, ब्युटिपार्लर, रेडिमेट कपडा पसलमा महिला सक्रियता देखिन्छ ।
रोसि थेबे( आर यस फेसन सेन्टर)
७ बर्ष अगाडि श्रीमान वैदेशिक रोजगारिको लागि कोरिया गए । नाङिनबाट छोरी पढाउन सदरमुकाम झरेकी रोसि, छोरी पढाएर बस्न मात्र सकिनन्। फिदिमको ठाडो लाइनमा ३ लाख रुपैयामा रेडिमेट कपडा व्यवसाय सुरु गरिन । अहिले उनको पसल १० लाख बराबरको भएको छ । उनी भन्छिन् ‘श्रीमानले पठाएको पैसाले नपुगेर पसल थालेकी होइन, आफै केही गरौ जस्तो लाग्यो अनि शुरु गरेको हु ‘। उनी व्यवसायमा सन्तुष्ट छिन् ।
छोरी पढाएर, घरखर्च गरेर आफ्ना इच्छा पूरा गरेकी छन् । श्रीमानले कमाएको बचत भएको छ । उनी भन्छिन् – बुढाले १ लाख पठाएर १० हजार तिमी खर्च गर भन्नू हुन्थ्यो तर त्यस्तो हुँदा पैसाको महत्व नबुझिदो रहेछ । जति नै गरेपनी घरको कामको महत्व हुँदैन, बिहान उठे देखि काम गर्दा पनि हात पसारेर पैसा अरु सँगै माग्नु पर्ने हुन्छ । उनी भन्छिन् ‘आफुले काम गर्न थालेपछी छुट्टै आनन्द आउदो रहेछ, त्यँही भएर व्यवसाय गर्न थाले’ । उनी जस्तै रेडिमेट कपडा पसल संचालन गर्ने जिल्लामा प्रशस्त छन् ।
लिला राई ( मन्टेस्वरी स्कुल संचालक ) काठमान्डौ पढ्दै गरेकी लिलालाई,आफू बसेको घर छेउको मन्टेस्वरी स्कुलले ध्यान तान्यो । मास्टर गरेर संघीय राजधानिमा उतै केही गर्ने सोच बनाएकी लिलाले फिदिम फर्किनु पर्यो । ५ बर्ष अगाडि १५ लाख रुपैयामा २२ जना विद्यार्थीबाट ज्ञानकुन्ज मन्टेस्वरी स्कुल संचालनमा ल्याएकी हुन् । अहिले ८४ जना विद्यार्थी पठनपाठन गर्छन् । ११ जना कर्मचारीलाई रोजगारी दिएकी छन् ।
उनले भनिन ‘सानै देखि महिलाले केही गर्नै पर्छ भन्ने लाग्थ्यो । मैले एस एलसी दिए देखि पकेट मनि भनेर माग्नु परेको छैन । उनी भन्छिन महिला आत्म निर्भर हुनैपर्छ’ । संघर्ष गर्न महिला पुरुष दुबैलाई गार्हो छ त्यो माथी महिलालाई त झनै गार्हो छ । जब सम्म महिला आफै केही गर्नुपर्छ भन्ने ठान्दैनन, आर्थिक रुपमा सबल हुदैनन् हिंसा खेपिरहनु पर्नेछ । मन्टेश्वरी स्कुल लगाएत रेडिमेट पसलपनी संचालनमा ल्याएकी छन् । लिला जस्तै जिल्लामा मन्टेस्वरी स्कुल संचालन गर्ने अधिकांस महिलानै रहेका छन् ।
सीता माया मगर ( कृषक)
बिराटनगरमा ७ दिनको तालिम पछाडी ५ वटा च्याउको बिउबाट कृषि व्यवसायमा होमिएकी सिता, यहीँ पेशामा सन्तुष्ट छन् । महिला बिकासले दिएको तालिममा उनलाई पराल, ५ पोका च्याउको बीउ, प्यास्टिक, डोरि, पराल सुकाउने पाल, जग दिएका थिए । ५ पोका बिउलाइ काटेर १० पोका पारिन, शुरुचोटी उनकोमा च्याउ फलेको देखेर हेर्न आउनेको घुइँचो भयो । त्यो देखेर केही गर्नै पर्ने रहेछ भन्ने लाग्यो । उनी भन्छिन अहिले पो मान्छे अरु अरु थोक गर्न थाले त जेठो पेशा भनेकै कृषि हो त्यो पनि अर्गानिक कृषि त्यही भएर गर्न थालेको हु ।
५ जनाको परिवार छ सबै खर्च कटाररएर मासिक ३० हजार बचत गर्ने गरेको उनी बताउछिन् । कृषिमा लाग्दा १० रोपनी जग्गा थियो त्यो पनि भागबन्डा गर्नु पर्यो, कृषिबाट नै ६ रोपनी जग्गा पनि थपौ, एउटा टेम्पु पनि किनौं । तर अब हटिया गएर मात्र हुदैन भनेर गाउँ गाउँबाट अर्गानिक उत्पादन मगाएर यहि तयार गर्ने गरेको सीता बताउछिन् । उनको बारिमा अकवरे, लामो बोढी, सिजनका तरकारी सबै छन् । उनले भर्खर शुरु गरेको तरकारी पसलमा भने कोदो, फापर, मकै ,जौ, गुन्द्रुक सबै स्थानिय उत्पादन पाउने उनले बताइन् । उनले भनिन, अहिले त परिवार नै यहि पेशामा छौ । सीता जस्तै ,मालबासे, साम्दिन, रानिटार, हिलिहाङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका लगाएतका पालिकामा महिला कृषि व्यवसायी भेटिन्छन् ।
महिमा कार्कि ( होटल संचालक )
फिदिम बजारको चोक मास्तिर भित्र पट्टि सानो कोठा भाडामा लिएर होटल संचालन गर्छिन महिमा कार्कि । दिउँसो उनको होटलमा खाजा खान आउनेको भिड हुन्छ । दैनिक जसो १ सय देखि १ सय ५०जना मान्छे खाजा खान आउने गर्छन् । उनले यो व्यवसाय ३ बर्ष अगाडि ५ लाखमा शुरु गरेकी हुन् । अहिले मासिक ३ लाखको कारोबार हुन्छ । २ जनालाई रोजगारी दिएकी छन् । उनी भन्छिन शुरुमा अफ्टेरो लाग्यो कहिले नगरेको काम तर अब सहज हुँदै गएको छ । उनी जस्तै होटल व्यवसायमा खासै भेटिदैनन महिला तर उनी यो पेशामा दङ्ग छिन् ।
लक्की सुजि( ब्युटिसियन)
फिदिम बजार मेनरोडको गेट छेउमा रहेको लक्कि ब्युटी पार्लर, जिल्लाको प्रसिद्ध पार्लर मानिन्छ । लक्की सुजिले २० बर्ष अघि यो पार्लर शुरु गरेकी हुन् । दैनिक जसो ६० देखि ७० जना सम्मलाई सेवा दिदै आएकी छन् । पाँच लाख लगानिमा ब्युटिपार्लर संचालन गरेको लक्कीले परिवारमात्र पालेकी छैनन जिल्लामा छुट्टै परिचय समेत बनाएकी छन् । बिबाहको सिजनमा लक्की निकै व्यस्त हुन्छिन् । दैनिक जसो २० देखि ३० हजार रुपैया आम्दानी हुने उनी बताउछिन् । पाँच जनाको परिवार यहि पार्लरले चलेको छ । उनिले आफू जस्तै अरु थुपै महिलालाई यो सीप सिकाएकी छन् । उनले पार्लरमा ४ जनालाई रोजगारी पनि दिएकी छन् । उनी जस्तै थुपै महिला जिल्लामा पार्लर संचालन गर्ने भेटिन्छन् ।
प्रमिला फागु(लिम्बू) (याक्थुङ खेस ढाका उद्योग )
प्रमिलाकी आमा ढाका, राडी, खाडि बुन्थिन् । छोरी प्रमिलालाई सीप भनेको आफ्नो पेवा हो भन्थिन । उनी १७ बर्षकी थिइन,जब उनले ढाका बनाउन सिकिन । शुरुमा घरेलुमा ढाका बनाउन सिकाउन थालिन् । पछि तालिम सधै नहुने हुँदा कुनै सिजन बेरोजगार भएर बस्नु पर्थ्यो त्यही भएर उद्योग खोलेको उनले भनिन् । १३ बर्ष अगाडि ३ लाखमा उद्योग खोलेकी प्रमिलाले अहिले २० जनालाई तान वनाइदिएर रोजगारी दिएकी छन् । ढाकाबाट बन्ने सम्पुर्ण सामाग्री उनकोमा पाँउछ । मासिक १ लाख देखि १ लाख ५० हजार सम्मको कमाइ गर्छिन ।
उनले भनिन यो ढाकाको व्यपार भन्नै सकिँदैन,कहिले प्रशस्त जान्छ कहिले कम पनि हुन्छ । ४ जनाको परिवार यहिँ उद्योगबाट चलेको छ । उनी स्थानिय सरकार सँग आशावादी भएकी छन् ।भन्छिन स्थानिय स्तरको बिद्यालय र सरकारी कार्यालयले ढाकालाई युनिफम बनाइदिए अझै असल हुन्थ्यो । उनी भन्छिन् भनेको बेला धागो नपाउदा दुःख पनि छ । तर महिला दिदी बहिनिले रोजगारी पाउनु भएको छ त्यस्मा खुशी लाग्छ । छोरी मान्छे आफ्नै खुट्टामा उभिदा मात्र समाजमा समान हक र अधिकार पाइने उनको बुझाइ छ ।
यी महिला प्रतिनिधि उदाहरण मात्र हुन् । ब्युटिपार्लर, ढाका उद्योग, कस्मेटिक, फेन्सी स्टोर, कृषि, मन्टेश्वरी स्कुल लगाएतका व्यवसाय संचालन गरेर आत्मनिर्भर र सक्षम साथै समाज रुपान्तरणमा यिनिहरुको योगदान उल्लेख छ । हाम्रो समाजमा गृहिणीको मूल्यांकन नै छैन । स्वयं गृहिणीहरुपनि आफूलाई कामकाजी महिलाको तुलनामा कम सम्झन्छिन् । एउटा गृहिणीको योगदान कुनै कामकाजी महिलाभन्दा कम भने हुँदैन । तर जब आर्थिकको कुरा आउछ तब गृहणी भएर महत्वपुर्ण कार्य सम्हालेको भएपनी आय आर्जन गर्न कठिन हुन्छ । एउटि महिलालाई पुरुष सरह स्थान दिनको लागि उ आर्थिक रुपमा सवल हुनै पर्छ । समाजमा फरक परिचय बनाउन बसेका उद्यमीशिलतामा लागेका महिलाहरूलाई राज्यले ध्यान दिन जरुरी देखिन्छ ।