सरला रेग्मी,
अर्घाखाँची । अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित सुपा देउराली देविस्थल हो । ४ हजार ५ सय फिटको उचाइमा रहेको सुपा देउराली इच्छा पूरा गराइदिने आस्थाकी प्रतीक मानिन्छ ।
कपिलवस्तुमा पर्ने गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ५५ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको बिचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर निकै सुन्दर छ । यो मन्दिर पश्चिम नेपालको धार्मिक महत्व र प्रकृतिक सुन्दरताको प्रतीक मानिन्छ ।यस स्थल जानकालागी हवाइमार्ग भैरहवा बिमानस्थल हुँदै या सडकमार्ग हुँदै सहजै पुग्न सकिन्छ । जे भाकल गर्यो त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ ।
यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमार र भारतको बलराम पुरकी राजकन्याबीच विवाह गरी घरतर्फ ल्याउँदा डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करीब ५० मिटर दक्षिणमा ल्याई पुर्याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृत्य अवस्थामा देखिन्छ ।
उत्त घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलिएको र पछि एकजना ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यस समयमा राजा ठकुरी ,शाह राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ ।
सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक दर्शनार्थीको मन लोभ्याउँछ।
वरिपरि ठुला ठुला हरिया पहाड, प्राकृतिक रुपमा अत्यन्त रमणीय, अग्लो झोलुङ्गे पुलबाट देखिने मन्दिर क्षेत्र अत्यन्तै सुन्दर देखिन्छ, धार्मिक बिश्वास तथा शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ ।
यस धार्मिक महत्व बोकेको स्थलको अर्को रोचक किंवदन्ती पनि रहेको छ । खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनी लाउरे भएर उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ ।
प्राकृतिक सौन्दर्यले भरिएको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर लुम्बिनी प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटनका रुपमा परिचित छ ।