सरला रेग्मी,
लुम्बिनी । मायादेवी बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेका महामानव बुद्धकि जन्मदाता हुन्। गौतम बुद्धको जन्म भएको ७ दिनमा मायादेवीको मृत्यु भएका कारण मायादेवीका प्रसङ्ग त्यति धेरै सुनिदैन ।
मायादेवी मन्दिर नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा अवस्थित युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको मन्दिर हो । यो मन्दिरलाई गौतम बुद्धको जन्म भएको स्थानमा निर्माण गरिएकोले यो क्षेत्रको प्रमूख मन्दिर मानिन्छ । वरिपरि सुन्दर अनि शान्त वातावरणमा निर्माण यो मन्दिर छेउमा पोखरी रहेको छ जहाँ मन्दिरको प्रतिमा छर्लङ्ग देख्न सकिन्छ । राता,सेता, निला, पहेला ध्वाजा उडिरहेको दृश्यले हरकोहिको मन प्रफुल्लित बनाउछ । लुम्बिनी क्षेत्रको प्रमुख धरोहरका रुपमा उभिएको यो मन्दिर आकर्षक देखिन्छ ।
यस मन्दिर भित्र बुद्धको जन्म स्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको बताइन्छ । त्यसको माथिल्लो भागमा मायादेविको मूर्ति छ जसलाई जन्ममूर्ति पनि भनिन्छ ।
चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहाकी बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ । यस स्थलको बाहिर पट्टी पवित्र पोखरी पुष्करिणी अवस्थित छ ।
भनिन्छ, मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहाँ “नुहाउनु भएको थियो साथै भगवानलाई पनि प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ । यस्को सामुन्ने अशोक स्तम्भमा कु’दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेखपनि मानिन्छ ।
यो मन्दिर परिषद भित्र सर्वसाधारणका दर्शनका लागि खुल्ला गरिएको थिएन । तर गौतम बुद्धको २५४७ औं जन्मजयन्तीमा २०६० साल जेष्ट २ गते देखि सर्वसाधारणका लागि प्रबेश खुल्ला गरिएको थियो । यो मन्दिरको दर्शनका लागि देश बिदेशबाट दर्शनार्थी आउने गर्छन् ।
मन्दिर बाहिर सुन्दर बनाइएको छ भने मन्दिर भित्र तस्बिर खिच्न, ठूलो स्वरले आवाज निकाल्न निशेध गरिएको छ । भित्रपट्टी इटाका जिर्ण देखिने पर्खाल देखिन्छ । गौतम बुद्ध जन्मिदाको अवस्था र गौतम बुद्धले चालेका पहिलो पाइला यहाँ देख्न सकिन्छ ।
भद्रभलादमी, शीलब्रतमा बस्ने नारीको रुपमा मानिन्छिन् । महारानी महामायादेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देवदहतिर गइरहँदा बाटोमा पर्ने लुम्बिनीको प्राकृृृतिक सौन्दर्यले रमाएर एकछिन आराम लिनुभएकै बेला उनलाई प्रसव व्यथा भयो । त्यँहीको एउटा सालवृृक्षमुनि बैशाखेपुर्णिमाको दिन बोधिसत्व सिद्धार्थको जन्म भयो । मायादेविले गौतम बुद्धलाई गर्भधारण गरेको १० औं महिनामा जन्म दिएको भन्ने बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन÷अनुसन्धान र लेखनमा सक्रिय लेखक वसन्त महर्जनले बताएका छन् ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् ।