काठमाडौं । अहिले सेल्फीको जमाना छ । तपाईं पनि सेल्फी लिन रुचाउनु हुन्छ हाेला । तर कहिले सोच्नुभएको छ यो मानव इतिहास अथवा पृथ्वी अन्त हुँदासम्म अन्तिम सेल्फी कस्तो हुन्छ होला ?
पृथ्वीको अन्तिममा सेल्फीको विषयमा त कल्पना पनि गर्न सकिन्न । तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेटरले यसलाई सम्भव बनाएको छ र पृथ्वी समाप्त हुनुअघि संसारको अन्तिम तस्वीर वा सेल्फीको तस्वीर सिर्जना गरेको छ ।
एआईले बनाएको यो पृथ्वीको अन्तिम सेल्फी झट्ट हेर्दा डरलाग्दो छ । टिकटकमा ‘रोबोट ओभरलोड्स’ नामको अकाउन्टमा यो तस्वीर सार्वजनिक भएको हो ।
यो अकाउन्टमा सामान्यतया एआईबाट निर्मित तस्वीरहरू पोस्ट हुने गर्छन् । पृथ्वीको यो अन्तिम तस्वीर भने ड्याल-ई-टु (DALL-E 2) नामक एआई इमेज जेनेरेटरले निर्माण गरेको हो ।
‘रोबोट ओभरलोड्स’ मा चार तस्वीर सार्वजनिक गरिएको छ, जसमा आगो लागेर ध्वस्त भइसकेको स्थान अगाडि मानिस उभिएको देख्न सकिन्छ, जसले यो अन्तिम समयको तस्वीर आफ्नो सेल्फीमा कैद गरिरहेको छ ।
सबै डरलाग्दा तस्वीरहरूमा ठूला आकारका आँखाहरू र लामा औँलाहरू भएका मानिस देख्न सकिन्छ ।
यी सबै तस्वीरहरूमा देखिएका मानिसहरू कंकालजस्तै देखिएका छन् । तस्वीरहरूमा डरलाग्दो कंकालको वरपर धुवाँको मुस्लो पनि देख्न सकिन्छ । यो भिडिओ २१ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।