झापा । विदेश पठाइदिने भन्दै विभिन्न १४ जनाभन्दा बढी व्यक्तिबाट रकम असुलेको आरोप लागेका दमकका सञ्चारकर्मी भूमिराज पराजुलीलाई वैदेशिक रोजगार विभागले पक्राउ पूर्जी जारी गरेको छ ।
दमकको हिमशिखर टेलिभिजनका सञ्चारकर्मी पराजुलीविरुद्ध वैदेशिक रोजगार ठगी कसुर मुद्दामा पक्राउ पूर्जी जारी गर्दै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार भएको हो ।
वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको थियो । उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । रोमानिया पठाउने बहानामा पराजुलीले २०७८ सालमा विभिन्न व्यक्तिबाट मोटो रकम असुलेको तर लामो समयसम्म रोमानिया नपठाई अल्मल्याएको भन्दै नरेन्द्र तामाङ लगायतले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
पत्रकार पराजुलीले युरोपेली मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाडाजुँगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलबारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँका दरले ठगी गरेको पीडितहरूले बताएका छन् ।
पराजुलीले बिर्तामोड–४ स्थित दीपक अधिकारीबाट ३ लाख, शिवसताक्षी–८ निवासी नरेन्द्र तामाङबाट २ लाख ९० हजार, भद्रपुर–२ निवासी नरेश मगरबाट १ लाख ५० हजार, भद्रपुर–२ निवासी केशवकुमार मगरबाट १ लाख ५० हजार, वेलवारी–४ मोरङ निवासी दिनेश धिमालबाट १ लाख ३० हजार, देउमाई–७ इलामका हस्तबहादुर गोलेबाट २ लाख ९० हजार, देवजङ्ग राईबाट १ लाख ४० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।