ताप्लेजुङ । अलैँचीको भाउ किनेको भन्दा प्रतिमनमा (४० केजी) २० हजार रुपैयाँसम्मले घटेपछि अलैँची गोदाममा थन्किएको छ । प्रतिमन ४८ हजार रुपैयाँमा किनेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा झरेको व्यापारीहरू बताउँछन् ।अलैँची व्यापारी भद्रवीर रेग्मीले गुनासाे गर्दै भने, ‘प्रतिमन ४८ हजारमा अलैँची किने, अहिले २८ हजारमा आइपुग्यो, कति घाटा भयो आफैँ हिसाब गर्नुस् ।’ पाँच सय मन अलैँचीमा घाटा भएको उहाँले सुनाए ।
थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा लागेका किसान मूल्य नपाउँदा निराश भएका छन् । सुरुमा अलैँचीको मूल्य सुन्दा हौसिएका किसानले धान फल्ने खेतका साथै बाँझो भएर खेर गएको र भिरालो जमिनमासमेत अलैँची लगाएका थिए । तर अहिले धेरैजसो किसानले उचित मूल्य नपाउँदा अलैँची गोदाममै राखेका छन् ।
सात वर्षअघि फक्ताङलुङ गाउँपालिका ३ लिङखिमका किसान मनकुमार लिम्बुले अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा बेच्नुभएको थियो । यस वर्ष भने २८ हजार रुपैयाँमा झरेपछि नबेची राखेको बताए ।
जिल्लाका नौ पालिकाका ६१ वटा वडामध्ये फक्ताङलुङ ७ ओलाङचुङगोलाबाहेक अरू ठाउँमा अलैँची लगाइने गरिएको छ । अहिले तमोर, काबेली, मेवाका साथै विभिन्न औल क्षेत्रमा अलैँची टिप्न किसान व्यस्त छन् । यस वर्ष अलैँचीको उत्पादन बढ्ने सङ्केत देखिएको छ ।
ताप्लेजुङमा सबैभन्दा धेरै अलैँची उत्पादन हुने गरेको छ । यस्तै इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा, खोटाङलगायतमा जिल्लामा पनि अलैँची लगाइन्छ । कृषि मन्त्रालयका अनुसार नेपालमा १८ हजार दुई सय ७३ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ ।
अलैँची निर्यात गरेर बर्सेनि ६ अर्ब देखि ७ अर्ब रुपैयाँसम्म नेपाल भित्रिने गरेको छ । नेपाली अलैँची ९९ प्रतिशत भारतीय बजारमा निकासी हुने गरेको छ । यद्यपि भारतले नेपाली अलैँची गुणस्तरहीन भन्दै दोष लगाएर उचित मूल्य नदिने गरेको बताइन्छ ।
ताप्लेजुङ तथा नेपालका पूर्वी जिल्लामा उत्पादित अलैँचीको मूल्य भारतले निर्धारण गर्ने गर्छ । भारतमा मूल्य घट्दा घटाउनुपर्ने हुनाले पनि समस्या आएको अलैँची व्यापारी दिनेश अधिकारीले बताउनुभयो । नेपाली अलैँची भारत हुँदै बङ्गलादेश, खाडी देशतिरसम्म निर्यात हुने पनि अधिकारीले बताए।
मुद्र सतहबाट सात सयदेखि २१ सय मिटरसम्मको उचाइमा अलैँची खेती हुने गरेको छ । अलैँची खेतीका लागि उपयुक्त तापक्रम १० देखि २५ डिग्री सेल्सियस हो ।
केशबप्रसाद भट्टराई