डा. बद्री चापागाईं ।
डाक्टरका अक्षरका बारेमा यस्ता धेरै मिम, जोक र अनुभवहरू सुन्न पाइन्छ । समाजिक सञ्जालको व्यापक प्रयोगपछि देशभित्रका कुनाकाप्चा तथा संसारभरिकै डाक्टरका पुर्जाहरू बाहिर आएका छन् । प्रायः व्यक्तिहरूको प्रतिक्रिया हुन्छ– डाक्टरहरू यति नबुझिने अक्षर किन लेख्छन् ? लेखिने हुन् कि लेख्दै जाँदा तेस्तो बन्ने हुन् ?
हुन त अक्षरहरू व्यक्तिपिच्छे फरक हुन्छन् । अक्षरले लेख्ने व्यक्तिको व्यक्तित्व झल्काउँछ पनि भन्ने गरिन्छ । सबैका अक्षर ‘छापा’ हुनुपर्छ भन्ने अपेक्षा व्यावहारिक नहुन सक्छ । तर औषधिजस्तो संवेदनशील चीज लेख्ने डाक्टरका अक्षर बुझिने किसिमको हुनुपर्छ भन्ने आवाजलाई नाजायज मान्न सकिन्न ।
डाक्टरका अक्षरहरू नेपालमा मात्र होइन, अन्यत्र पनि अस्पष्ट भए अचम्म मान्नु पर्दैन । विकसित देशमा समेत यो समस्या रहेको अध्ययनहरूले देखाएका छन् । बेलायतमा मात्र वार्षिक उपचारका क्रममा हुने त्रुटि (मेडिकल एरर) का कारणले ३० हजारसम्म मृत्यु हुने देखाएको छ । र, यीमध्ये एउटा कारण स्वास्थ्यकर्मीको अक्षर पनि हो ।
नेपालमा पहिले सीमित व्यक्ति मात्र डाक्टर बन्थे । सरकारी स्कुलमा ४ कक्षामा पुगेपछि मात्र बल्ल ए, बी, सी, डी चिन्ने जमातमा राम्रा अक्षर नभए पनि स्वीकार्यजस्तो मानिन्थ्यो । तर केही दशकयता नर्सरीदेखि नै अंग्रेजी पढ्ने पुस्ता डाक्टर बनिसक्दा पनि डाक्टरका अक्षर अझैं ‘छेर’ जस्तो भयो भन्ने सिकायत प्रशस्तै सुनिन्छ ।
उसो त राम्रा अक्षर हुँदैमा रोगको सही पहिचान र उपचार हुने भन्ने होइन । सामान्यतः पुरुष डाक्टरभन्दा महिला डाक्टरका अक्षर बुझ्न सकिने अध्ययनहरूले देखाएको छ ।
उसो भए किन हुन्छन् डाक्टरका अक्षर नबुझिने ? केही खास कारणहरू यस्ता छन् ।
कामको चाप
कुनै पनि ‘चलेको’ डाक्टर वा व्यस्त ओपीडीमा बिरामीको चाप हेर्ने हो भने डाक्टरले मेसिन शैलीमा कलम नचलाए काम भ्याउन सम्भव हुन्न । जति छिटोछिटो लेख्यो, उति नै अक्षर बिग्रिँदै जानु अस्वाभाविक होइन । परीक्षामा हामी सुरुका केही प्रश्नको उत्तर सफा राम्रा अक्षर बनाएर लेख्छौं । पछि पछिका पानामा अक्षर बिस्तारै बिग्रँदै जान्छ । किनभने सबै प्रश्नहरूको उत्तर भ्याउनुपर्दा पछिपछि लेखनको गति निकै बढ्छ ।
मेडिकल कलेजमा छिर्दा राम्रै अक्षर भएका विद्यार्थीका अक्षर पनि चिकित्सक बनेर निस्किँदासम्म बिग्रिसकेका हुन्छन् । कारण क्लासमा टिचरले पढाउँदा सकेसम्म बढी कुरा टिप्न विद्यार्थीले लेखाइको स्पिड बढाउँछन् अनि अझ बिग्रिँदै जान्छन् । वार्डमा सिनियरले भनेका कुरा नोट गर्दा होस् वा उभिईउभिई कन्सल्टेन्टका निर्देशनहरू टिप्दा होस् वा दैनिक ‘प्रोग्रेस रिपोर्ट’ लेख्दा होस्, तालिममा रहेको चिकित्सकको मुख्य उद्देश्य सकेसम्म धेरै काम गर्नु नै हुन्छ ।
यसरी मेडिकल कलेजबाट निस्किँदासम्म धेरैले अक्षर आफूले मात्र बुझ्ने बनाइसकेका हुन्छन् । ओपीडीमा पनि प्रायः डाक्टरले बिरामी फलोअपमा आउँदा आफ्नो सुरुवाती इम्प्रेसन र जाँचका क्रममा भेटिएका अवलोकनहरू आफूले मात्रै बुझ्ने शैलीमा लेखेका हुन्छन्, जुन अरूलाई खुट्याउन मुस्किल हुन्छ । अझ आफूले लेखेका अक्षर आफैंले नबुझ्ने अनुभव र किस्साहरू पनि बेलाबखत सुन्ने गरिन्छ ।
बुझिदिने जमात
डाक्टरले लेख्ने पुर्जा फार्मेसिस्टले बुझे त पुगिहाल्यो निभन्ने धारणा पनि कतिपयमा रहेको पाइन्छ । हुन पनि नियमित रूपमा प्रेस्किप्सन हेर्ने फार्मेसिस्टहरूले अरू मानिसले नबुझे पनि आफ्नो डाक्टरका अक्षर बुझ्ने भैसकेका हुन्छन् । उनीहरू प्रायः सुरुको अक्षर (जुन क्यापिटल लेखिएको हुन्छ) र औषधिको डोज (जुन अङ्कमा लेखिन्छ) त्यसैलाई आधार मानेर औषधि खुट्याउँछन् । तर यस्तोमा कहिलेकाहीँ ठूलो दुर्घटना नहोला भन्न सकिन्न । उदाहरणका लागि Itopride 50 mg पेटको गडबडीको लागिदिइने औषधिको ठाउँमा Etoposide (क्यान्सरमा प्रयोग हुने औषधि) र Digene (एन्टासिट ट्याबलेट) को ठाउँमा Digoxin (मुटुले काम नगर्दा दिइने औषधि) दिएको नभेटिएको होइन ।
अरूले नबुझून्
डाक्टरका पुर्जा हेरेर अनि त्यसैलाई नक्कल गरेर डाक्टरै बनिटोपल्ने चलन नेपालमा पुरानो हो । प्रायः प्यारामेडिक्सहरू चलेका डाक्टरका पुर्जा यसरी अनुकरण गर्न खप्पिस हुन्छन् । ‘बजारमा गएर फलाना डाक्टरलाई देखाए पनि दिने औषधि यही हो केरे’ भन्दै बिरामीहरूलाई आफूमा आश्वस्त पार्न उनीहरू यस्तो उपाय अपनाउँछन् । यस्तोमा आफ्नो बिरामीका बारेमा आफूले लेखेको धारणा, रोगको पहिचान र उपचार विधि अरूले नक्कल गर्न नसकून् भनेर कतिपय डाक्टरले ‘कोडमा’ वा कतिले आफ्नो औषधिपसलेले मात्र बुझ्ने शैलीमा पनि पुर्जा लेख्ने गर्छन् ।
कतिपय अवस्थामा छ औषधि किन्दा आफ्नो वा आफूले रुचाएका काउन्टरबाट मात्र किनोस् भनेर पनि यो दुराग्रह राख्ने गरेको समेत भेटिने गरेको छ । अझ वार्ड वाइमर्जेन्सीका कागजातहरूमा खराब अक्षरका कारणले सहकर्मीहरूमा दुविधा उत्पन्न हुने वा गलत उपचार गरिने सम्भावना पनि उत्तिकै हुन्छ ।
नियमनको कमी
पुर्जीमा लेखिएका कुरा प्रस्ट हुनैपर्ने, नत्र कारबाही हुने डर नभएर पनि डाक्टरहरूले अक्षर राम्रा लेख्न जाँगर नगरेका हुन सक्छन् । तर हामीकहाँ डाक्टरले पुर्जीमा के लेखेको छ र त्यो बुझिन्छ बुझिँदैन भन्ने हैरानीबारे बिरामी र तिनका आफन्तले बाहेक अरूले खासै चासो राखेको पाइन्न । चिकित्सा शिक्षा शिक्षण संस्था, स्वास्थ्य संस्था र नियमनकारी निकायहरूले यसमा चासो दिने हो भने सायद यो खासै ठूलो समस्या बन्ने थिएन ।
उपाय के ?
आफूलाई के भएको हो, चिकित्सकले आफूलाई कुन विधिले उपचार गरिरहेका छन्, कुनकुन परीक्षणहरू गर्न भनिएको छ र केके औषधि दिइएको छ …? अहिलेको जमानामा अधिकांश बिरामी वा तिनका आफन्त यसबारे एकदमै प्रस्टताका साथ जान्न उत्सुक हुन्छन् । यो उनीहरूको अधिकार पनि हो । त्यसका अलावा उपचारको क्रममा बिरामी पुग्नुपर्ने प्रयोगशाला, फार्मेसी र बिल काउन्टरका स्टाफहरूमा कुनै दुविधा नहोस् भनेर पनि चिकित्सकको अक्षर बुझिने हुनुपर्छ भनेर अपेक्षा राख्नु अनुचित हुन्न ।
काठमाडौंका केही अस्पतालले लाखौं खर्च गरेर डाक्टरले टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था त गरेका छन् तर डाक्टरहरूले नै त्यसमा त्यति चाख नदिएकाले त्यो सिस्टम नै फेल भएको छ ।
वरिष्ठ चिकित्सकहरूले यदि आफ्नो अक्षर बदल्न सक्दैनन् भने लेखन कार्यका निम्ति सहायक राख्न सक्छन्, जसले आफ्नो निर्देशन अनुसार बिरामी पुर्जीमा लेखोस् । पुर्जीमा लेखिएका कुरा प्रस्ट हुनै पर्ने वा कम्तीमा औषधिका नाम क्यापिटल लेटरमै लेख्न पर्ने नियम बनाउने हो भने पनि यो समस्या घट्ने थियो ।
सबैभन्दा उपयुक्त विकल्प भनेको कम्प्युटरको प्रयोग हुन सक्छ । Computerized Order Entry लागू गर्ने हो भने हरेक डाक्टरले हरेक पुर्जी कम्प्युटरमै टाइप गर्नुपर्ने हुन्छ । यस्तो गर्न सकियो भने अक्षर नबुझिने समस्या पूरै हल हुन्छ । सुरुमा केही लगानी भए पनि अस्पतालमा डाक्टरका अक्षरका कारण उब्जिने समस्याहरू यसरी टाइप गरिसकेपछि स्वतः हराउँछन् ।
काठमाडौंका केही अस्पतालले लाखौं खर्च गरेर डाक्टरले टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था त गरेका छन् तर डाक्टरहरूले नै त्यसमा त्यति चाख नदिएकाले त्यो सिस्टम नै फेल भएको छ । आखिर डाक्टरहरू पनि मान्छे नै हुन् । बाध्यकारी नियम नबनाएसम्म त्यो लागू हुने देखिएको छैन ।
सामाजिक सञ्जालको व्यापकतापछि कतिपय वरिष्ठ चिकित्सकहरूका पुर्जाका फोटोहरूको खिल्ली उडाउँदै विभिन्न फोरमहरूमा पोस्ट हुन थालेको देखिन्छ । तर यसरी केवल ओपीडीका पुर्जाहरू देखाउँदैमा समस्या समाधान हुने होइन । कसैलाई व्यक्तिगत रूपमा आक्षेप लगाएर मात्र व्यवहार परिवर्तन हुने पनि होइन ।
अक्षर भनेको मानिसको वर्षौंको बानी हो । यो रातारात परिवर्तन गर्न सम्भव कुरो पनि होइन । तर त्यसो भन्दैमा बुझ्दै नबुझिने अक्षर लेखिएकै कारण बिरामीको स्वास्थ्य वा जीवन नै जोखिममा पर्ने अवस्था यदि आउँछ भने त्यसको जिम्मेवारीबाट चिकित्सक मुक्त हुन कदापि सक्दैन ।