झापा । झापा गाउँपालिका वडा नं १ बाट स्रोत नखुलेको १३ लाख ६० हजार रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं १ लसुना बोर्डर घर भएका ५४ वर्षिय तेजबहादुर गणेश रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई नेतृत्वको टोलीले आज बिहान ११ः ४५ बजे लसुना बोर्डरबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।
लसुना बोर्डरमा प्रहरी टोली देखेपछि गणेश नजिकै रहेको आफ्नो घरतिर भागेका थिए । गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका रकममा १००० को नोट ९ सय वटा, ५०० को नोट ८ सय वटा र १०० को नोट ६ सय वटा रहेको जनाइएको छ । पक्राउ परेका गणेशलाई कुमरखोद ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।