( हामि भुतप्रेतलाई मान्दैनौ,यहाँ जोगीको नेपालको इतिहास,परम्परा र बर्तमान अवस्थालाई मात्र देखाउन खोजेको हो )
सरला रेग्मी
धरान । मध्य रात पछि अनौठो धुन फुकेर घर घर हिडेको सुन्नु भएको छरु पहिलो चोटि यो धुन सुन्दा तपाइँ कति उमेरको हुनुहुन्थ्यो रु राती यस्तो धुन सुन्दा तपाईंलाई कस्तो लागेको थियो रु
डर ……?
भय……?
या अरु केहि…..?
सानोमा अक्सर यस्ता धुन सुन्दा डर लाग्थ्यो । हजुरबुवा आमाले अलि डर देखाउनु हुन्थ्यो । कालो चिज डराउने हुन्छ है भन्ने बुझाउनु भएको थियो । तर जब उज्यालोमा ‘जय गोरखनाथ भन्दै’ धेरै वटा ठुला साना गरेका काला थैली लिएर जोगि आउथे ती त्यति डरलाग्दा भने देखिदैन थिए ।
मनमा प्रश्न आउथ्यो, के यी तिनै हुन् जो राती आउछन् र?
१२ बर्षका थिए चन्द्रबहादुर जोगि जब पहिलो पटक उनका बुवाले उनलाई भैरङ बजाउन लिएर हिड्दा । अहिले उनी ५५ बर्षका भए । संखुवासभामा जन्मेका चन्द्रबहादुरलाई उनका बुवाले हाम्रो पेशा यहि हो यहीँ बजाएर हिड्नु पर्छ र मागेर खानुपर्छ भएर सिकाएका थिए । पहिला त एक महिना बजाउदा ६ महिना खान पुग्थ्यो रे तर अहिले त अरु बिकल्प पनि खोज्नु पर्छ । उनी भन्छन्- मैले चै छोराहरूलाई सिकाइन, समय पहिलाको जस्तो छैन यहि बजाएर बाच्न सकिँदैन रहेछ । उनले भने ‘तर जोगिले आफ्नो छोरालाई कृष्णशारको एक टुक्रा मात्र भएपनी दिनुपर्ने मान्यता छ’।
जोगीहरु विशेष मन्त्र जप्दै कृष्णसारको सिङ्ग (फेरी) फुक्दै टाढा टाढा सम्म नयाँ नयाँ ठाउँ घुम्न जाने र रोग विरामले थलिएका मानिसलाई जडिवुटी खुवाएर र झारफुक गरेर निको पार्ने काम गर्थे । त्यस वापत उनीहरुले केही खानेकुरा अन्न पैसा पाउन थाले जसलाई भिक्षा दान भनियो । यसरी उनीहरुको जिविकोपार्जन फेरी फुकेरै हुन थाल्यो ।
पहिला जङ्गली अवस्थाको जीवनयापन गर्दा जङ्गलका प्राकृतिक आहार वटुलेर खाने जङ्गली जनावर मारेर खाने क्रममा जोगी जातिका मानिसले जङ्गली जनावर “वराँठ” को सिङ्ग फुक्न सिके । त्यही सिङ्गलाई आजभोलि “फेरी” भनिन्छ । “वराँठ” फुक्दै भैरुङ्ग मन्त्र भन्दै हिड्छौ, बुढापाकाले त झारफुक पनि गर्न लगाउनु हुन्छ ।
८४ बर्षिया बेदमाया भट्टराईको अनुभव छ कि , उहिले त दुखाइ पिराइ जोगिले फुकेरै निको हुन्थ्यो । राती बजाउन आएको थाहापाउदा बोलाउथ्यौ, उनिहरु बोलाएको सुन्थे मात्र, दोहोरो बोल्दैन थिए । पहिला बर्षमा दुइचोटी आउथे तर अहिले त जहिले आउछन् ।
जोगिको अनि जोगिले बजाउने “वराँठ” र भैरुङ्गको छुट्टै बिशेषता छ । तेह्रथुमका अर्का हस्तिबहादुर जोगि, चन्द्रबहादुर जोगि आएको दुइदिनपछी आए । खासमा एक घरमा एक बर्षमा एकचोटिमात्र आउने नियम रहेछ । तेरो मेरो क्षेत्र नछुट्याउदा अक्सर यस्तो समस्या हुने गरेको जोगिहरु बताउछन् ।
तेह्रथुमलाई जोगिको आदिम स्थल मानिन्छ । जनसंख्या यकिन नभएपनी १० हजारको हाराहारीमा रहेको विभिन्न लेखमा देखिएको छ । कहाँ कहिले शुरुभयो भनेर लेखिएको नभेटिएको जोगि बताउछन् । कमाएर अलि हुने खानेले जोगि थर नै त्यागेर योगि या अन्य थर बनाएको उनले बताए ।
जोगीहरुको थर र प्रकार छुट्याउने मुख्य आधार यिनीहरुको भैरुङ्गु हो । यस जाति भित्र १०८ वटा भैरुङ्गुहरु रहेका छन् । बाल, काली, सेती, ज्वाला, काल, वज्र, वटुकी, भद्र, अग्नी, लोहासुर, ठिङ्गला जस्ता भैरुङ्गहरु हुन्छन् । यही भैरुङ्गलाई जोगीहरुले आफ्नो (कूल) वा वंशको रुपमा मान्छन् ।
हस्तिबहादुर जोगिले भने कार्तिक महिना र चैत महिनामा मात्र “वराँठ”(फेरी) फुक्नु पर्छ। यो महिनामा आउने ‘जोगि अरुबेला आउने भोगी हुन्’ । बिशेषत यो राती १२ बजे देखि ३ बजे सम्म फुक्नु पर्छ । किनकी यो समय भुत प्रेत खेल्ने समय हो । आम जनताको सुरक्षाको लागि पृथ्वीनारायण शाहले शुरूवात गरेको बुवाले सुनाएको उनी बताउछन् । उनले भने तर इतिहास उसो त थाहाछैन । कहिले बाट शुरुवात भयो त्यो पनि थाहाभएन । उनले भने अहिले तेह्रथुमको ओयाक्जुङमा धेरै घर जोगि छैनौं । कोहि झापा, सुनसरी बसाइँ सरि आए ।
चन्द्रबहादुर जोगिपनी संखुवासभाबाट २०३७ सालमा बसाइँसराइ गरेर धरानको सर्दु किनारामा बसेका छन् । उनी जस्तै अरु १३ घर जोगिको रहेको छ । उनी भन्छन् धेरैले यो पेशा छोडिसके, कोहि बिदेश त कोहि ज्याला मजदुरी गर्छन । उनले सुनाए’
कार्तिक महिना र चैत महिनालाई कालो महिना मानिन्छ । यो महिना भुत प्रेत खेल्ने बेला मानिन्छ । उधौली र उभौली पनि भनिन्छ । उधौली समय कार्तिक र उभौली चैत गरि जम्मा यो दुई महिना मात्र जोगिले फेरी फुक्ने चलन रहेको छ । फेरी फुक्नेपनि छुटै नियम रहेको छ । मध्यरातमा घरको चार सुरमा चार चोटि र मुल ढोका या मुल खाबोमा एकपटक गरि जम्मा ५ पटक फुक्ने गरेको चन्द्रबहादुर जोगिले केन्जो खबरलाई बताए । उनले भने अचेत त पहिला जस्तो ढोका खोदैनन, बाहिर बजायो हिड्यो, हुनपनी समय राम्रो छैन जोगि बनेर अरु नै आएका पनि त हुन सक्छन् ?
जोगिले बोक्ने झोलिको पनि छुट्टै महत्व रहेको छ । हरेक झोलिका एक ग्रह गरि जम्मा ९ झोलीको ९ ग्रह हुने गरेको उनले बताए । ती हरेक झोलीमा चामल, दाल, नुन, तेल, मसला, बेसार,तरकारी गरि दैनिक खाने खाध्य बस्तु दिनु पर्ने मान्यता रहेको छ । उनले भने ‘तर अचेल यस्तो धेरै कमले गर्छन्। अचेल त पैसा नै दिने गरेको उनले सुनाए’ । उनले मुस्कुक मुस्कुराउदै भने तर बुढापाकाले त राती ढोकापनि खोल्छन् । मुल ढोकामा पनि फेरी फुक्न लगाउछन । अनि बिहान टिका लगाएर चामल दालहरु पनि दिन्छन् । उनले भने कसैले त यस्तो भर्खर उमेर छ काम गर्नु नि? कस्तो मागेर खाएकोपनि भन्छन् नबुझेर भनेको भनेर दुख पनि लाग्दैन ।
जोगीहरु हरेक वर्ष चण्डीपूर्णिमाको दिन बिहानै आफ्नो भैरुङ्गको पूजा धुमधामका साथ गर्ने गर्दछन । एउटै भैरुङ्ग मान्ने जोगीहरु एकै ठाउँमा भेला भई पूजा गरिने हँदा यो दिन जोगीहरुको ठाउँ-ठाउँमा विशेष जमघट हुने गर्दछ । पहिला जोगिले मागेर खान्थे,त्यही भएर घरजग्गा पनि हुदैन थियो, पढ्नुपनी पर्दैन थियो । तर अब त्यसरी जिविको पार्जन गर्न निक्कै मुस्किल हुने गरेको उनले बताएका छन् ।