झापा । अस्पताललाई बुझाउनु पर्ने शुल्क बुझाउन नसक्दा एकजना विरामीले एक सातादेखि डिस्चार्ज पाएका छैनन् ।
बुद्धशान्तिमा बसोबास भई मजदुरी गरी जीविकोपार्जन गर्दै आएका ३५ वर्षिय शखा राजवंशी घरबाट लडेर घाइते भएका थिए । उनलाई बिर्तामोडको मेडिका अस्पतालमा भर्ना गरिएको थियो । निको भएको एक साताभन्दा बढी भए पनि पैसा अभावले राजवंशी अस्पतालबाट डिस्चार्ज हुन नसकेका हुन् ।
मजदुरी गर्दै विहान-बेलुकीको छाक टार्दै आएका आर्थिक अवस्था कमजोर भएका उनले अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न सकेका छैनन् । परिवार र आफन्त कोही नभएका राजवंशी साथीभाइसंगै कोठा लिएर बुधबारेमा बस्दै आएका थिए । अस्पतालको करिव १ लाख ६० हजार रकम बुझाउन नसक्दा अस्पतालको बेडमा बस्न उनी बाध्य छन् ।
घरबाट लडेर घाइते भएपछि आफूहरुले उठाएर अस्पताल भर्ना गरेको स्थानीय देवी दुलालले बताए । आफूहरुले घरघर र पसलहरुबाट मागेर करिव ५० हजार रुपैंयाँ संकलन गरेको उनले जानकारी दिए ।
आफूहरुले सक्दो छुट गरेको मेडिका हस्पिटलका संचालक हरिश्चन्द्र बाँस्तोलाले बताए । विरामीले अस्पतालमै मजदुरी गरेर रकम तिर्न खोजेको भए पनि त्यसो गर्दा अस्पताल व्यवस्थापनलाई समस्या पर्ने बाँस्तोलाले जानकारी दिए । भारत घर भएका राजवंशी एक महिना अगाडि मजदुरी गर्न आएका थिए ।