सरला रेग्मी
पुर्वी पहाडको नगदीबाली अलैंचीको मुल्यमा अहिले केही सुधार हुँदै गएको छ ।गत साल ५० हजारबाट २३ हजारमा झरेको अलैंचीको मुल्य अहिले एक नम्बर अलैंची ३७ हजार पुग्दा अलैंची किसान आसावादी भएका छन् ।
कुनै बेला १ लाख १५ हजार सम्म मुल्य पाएका किसान तथा व्यवसायी धेरै लामो समय मुल्य ओरालो लाग्दा चिन्तित भएका थिए । ओरालो लागेको अलैंची फर्किने हो होइन दोधारमा भएको बेला बिस्तारै अलैंचीको मुल्य उकालो लाग्दा अलैंचीमै आश्रीत कृषकमा आशा उदाएको देखिन्छ ।
पाँचथर फिदिम नगरपालिका ७ रानिटारका प्रताप तामाङको यस बर्ष ३० मन अलंैची फल्यो, असोजमै टिपेको अलैंची लागत नै नउठ्ने भए पछि घरमै थन्काएका थिए । तामाङले भने– ‘तर अहिले केही आशा पलाएको छ’ । उनले ८ बर्ष अगाडि १ लाख १५ हजारमा अलैंची बेचेका थिए। त्यस्को तुलनामा त अहिलेको मुल्य नभएपनी गत बर्षको तुलनामा अहिले मुल्य पाएको उनी भन्छन् ।
उनले ३० मन अलैची ३० हजार प्रतिमनले बेचेका छन् । मुल्य अझै बढ्ने आश हुदै गर्दा पनि अलैंची बेच्नुपर्ने बाध्यता उनको छ । देशमा बढ्दै गएको आर्थिक मन्दि र खाधान्नमा बढेको मुल्यका कारण घरव्यवहार चलाउन खर्च चाहिएका कारण अलैंचीले लागत उठाउला जस्तो भएपछी उनले अलैंची बेचिहालेका हुन् ।
त्यस्तै पाँचथर कुम्मायक गाउँपालिका माङ्जाबुङका युवराज शेर्माले पनि अलैंचीको मूल्य बढ्ने बित्तिकै अलैंची बेचिहालेको बताएका छन् । १२ देखि १५ मन अलैंची फलाउन ५ सय जना बराबरको खेताला लाग्छन् । धेरै समय सम्म गोदाममा अलैंची राख्दा ढुसी पर्ने हुँदा एक नम्बर अलैंचीको मुल्य पाइदैन । २१ मन अलैंची २८ हजारले र २० मन अलैंची ३३ हजारले बेचेको उनी बताउछन् । उनि भन्छन ‘पहिलाको मुल्यको तुलनामा अहिलेको मुल्य त केही होइन तर यतिमा बेच्दा लागत चै उठेको छ ’।
यता व्यवसायिमा पनि मुल्य उकालो लाग्दै गर्दा केही आशा पलाएको देखिन्छ । गत बर्ष २०७८ मंसिरमा ५० हजारमा किनेको अलैंचीको मुल्य निरन्तर ओरालो लागेर २३ हजार पुग्दा व्यवसायीहरु अलैंची गोदाममा थन्काउन बाध्य भएका थिए । उल्लेख्य मुल्य वृद्धि नभएपनी उकालो लाग्दै गरेको मुल्यले आशा भने जगाएको नेपाल अलैंची व्यवसायी महासघका केन्द्रीय सदस्य प्रकाश नेपाल बताउछन् ।
नेपालमा उत्पादन हुने मसला बाली मध्धे सबैभन्दा बढी मुल्य पर्ने र धेरै निर्यात हुने कृषिबालिको सुचिमा अलैंची पर्दछ । अलैंची नेपालबाट निर्यात मात्र हुने तर आयात भने नगरिने एक मात्र कृषि बस्तु हो ।
नेपालमा यस्को खपत ५ प्रतिशतमात्र हुन्छ भने भारत लगाएतका देशमा ९५ प्रतिशत निर्यात हुने गर्छ । बार्षिक ५ मेट्रीकटन उत्पादन हुने अलैंची मुल्य नपाएका कारण लामो समय स्टकमा रहेको कारण यसबर्ष अलि बढी निर्यात हुन सक्ने नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताएका छन् । यसबर्ष ४२ सय ५० टन निर्यात हुँदा सरदर ४ अर्व रुपैयाँ नेपाल भित्रिएको छ ।