पाँचथर । शनिबार राती परेको अबिरल वर्षाको कारण तमोर नदि, हेवा खोला र अन्य खोलाहरुमा आएको बाढीको कारण पाँचथरका दुई जनाको मृत्यु पुष्टी भएको छ । बिभिन्न स्थानका ४ जना ब्यक्ति अझै बेपता भएका छन् । मृत्यु हुनेमा फालेलुङ -३ मा पहिरोमा परि जिवित उद्धार गरिएको ९ वर्षीया बालिका जुना सावदेन र आइतबार दिउसो कुम्मायक ५ मा शव भेटिए पछि फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बूकोे मृत्यु पुष्टी भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै, फिदिम-४ र हिलिहाङ-७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालीका र हिलिहाङ गाँउपालीकाको सिमानामा हेवा खोलको पुल बाढिले बगाउदा ताप्लेजुङ र पाँचथर तीन स्थानीय तहको सडक आवागमन अवरुद्ध बनाएको छ । पुल बगाएपछि पारीका पारीनै वारीका वारीनै बनाईदिएको छ । खोलावारी, खोलापरि मान्छेहरु आएर विपत्ति हेरीरहेका छन् । मान्छेहरु खोलावारीपारी हात उठाएर संकेत, अभिवादन गरेको देखिन्छ तर पुल नभएर भेट्न पाएका छैनन् ।
बाढिकै कारण मेचि राजमार्गमा पर्न हेवाखोला पुल, फिदिम ४ र हिलिहाङ ७ मा रहेको तमोर करिडोमा पर्ने हेवा ब्रिज,फालेलुङ ३ र ७ जोड्ने २ वटा पक्कि पुल र याङबर ४ र ताप्लेजुङको सिदिङवा जोड्ने १ वटा पक्कि पुल, फिदिम ११ र हिलिहाङ ७ जोड्ने माउन्टेन हाईड्रोको पक्कि पुल, याङवरक २ फलौचामा रहेको चिवाभञ्जाङ जाने पक्कि फुल बगाएको प्रहरिले जनाएको छ ।
यस्तै, फालेलुङ ३ र ५ जोड्ने झोलुङ्खे पुल,याङवरका २ को झोलुङ्खे पुल, याङवर १ को मोरुङगा झोलुङ्खे पुल, याङवर १ को नागदह झोलुङ्खे पुल, याङवर १ को बिरुवा झोलुङ्खे पुल, याङवर १ च्याङच्थापुबाट ठिङगेपुर जोड्ने झोलुङ्खे पुल बगाएको प्रहरिले जनाएको छ
ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका- ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ । यो दुईवटा पुल बगाएपछि ताप्लेजुङ जिल्ला यातायातको सम्पर्कबाट पूणर् रुपमा बिच्छेद भएको छ । वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पांग्रेभीरमा पनि सडक अवरुद्ध भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका-३ मच्छेबुङको मोटरपुल पनि बगेको छ ।
पाँचथरकै फिदिम-यासोक सडक बीचमा पर्ने कुम्मायक गाउँपालिका-४ बन्थाकमा सडक अवरुद्ध भएको छ । मेची राजमार्गको कान्छीदोकान बजारमा पनि सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ । बाढीकै कारण फिदिम ११मा रहेको १४ मेगावाट बिद्युत उत्पादन क्षमता रहेको माउन्टेन ‘बि’ र,फिदिम १० मा रहेको माउन्टेन ‘ए’ जलबिद्युत आयोजना पुणर्रुपमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै याङवरक ४ मा रहेको रोराङ जलबिद्युत आयोजनाको ड्याममा पुर्ण क्षति भएको प्रहरीले जनाएको छ ।
हेवा खोलामा बेलीब्रिज राखिने
मेची राजमार्गको हेवा खोलामा बेलीब्रिज राखिने भएको छ । शनिबार बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि बेलीब्रिज राख्न लागिएको हो । हेवा खोलाको पक्की पुल बाढीले बगाएपछि मेची राजमार्ग पूणर्रूपमा अवरुद्ध छ । यातायातका साधन सन्चालन गर्न सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज रादी पाँचथर ताप्लेजुङ यातायात सञ्चालन गरीने बताइएको छ ।