पाँचथर । सदमरमुकाम फिदिम स्थित फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमा भत्किएको थियो । त्यसपछि पाँचथर ठूला खेल प्रतियोगिताहरु बन्द भए । स्वभाविक थियो त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन ।
फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा ठूला मानिएका फुटलब प्रतियोगिता भएको छैन । २०७७ सालको माघ महिनामा सोही खेल मैदानलाई सुविधासम्पन्न खेलमैदानका बनाउने भन्दै १० करोड ७९ लाख रुपैयाँको ठेक्का लागेको थियो ।
निर्माणको जिम्मा पिएस किराँतेश्वर मैनाचुली जेभीले पायो । दिनहरु बिते, वर्षहरु बिते तर खेलमैदान निर्माणको कामले गती लिएन । म्याद पनि थपियो । थपिएको म्याद सकिदा पनि खेलमैदान निर्माणको कामको प्रगति समान्य मात्र छ ।
३० वटा सटरसहित सपिङ कप्लेक्स एवंम् सुविधा सम्पन्न खेलमैदानको काम अघि बढाइए पनि खेलमैदानको निर्माण कार्य हालसम्म भौतिकतर्फ ४० र वित्तियतर्फ ३१ प्रतिशत मात्रै प्रगति भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।
बेबारिसे अवस्थामा रहेको खेलमैदान फिदिम नगरपालिकाले ठेकेदार कम्पनी संग पटक पटक पहल गर्दा अहिले मैदानमा अभ्यास गर्न सम्म मिल्ने भएको छ । यस्तो निर्माणधिन ‘थङथिलो’ मैदानमा अन्तर्राष्ट्रिय गोल्डकप आयोजना गर्ने तयारी गरिएको छ ।
पाँचथर फुटबल क्लबको नाममा भर्खर दर्ता भएको क्लबले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार राशि भएको गोल्डकप फिदिम माविको निर्माणाधिन खेलमैदानमा मसिंर १५ देखि २३ सम्म आयोजना गर्ने जानकारी दिएको हो । गोल्डकपको नाम ‘किरात गोल्डकप’ राखिएको छ । प्रतियोगितालाई वाइवाइले प्रायोजन गरेको बताइएको छ ।
क्लबका अध्यक्ष अनुराग मगरले यो पाँचथरको सर्वाधिक राशी रहेको प्रतियोगिता हुने बताए । प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब सहित ८ टोलीको सहभागिथता रहने बताइएको छ । शेर्पासँगै, दार्जलिङ एफसी भारत, कर्णसिंह सोनाम स्मृति फुटबल क्बल ताप्लेजुङ, विर्तामोड युनाईटेड झापा, डिएफसी मोरङ, रेडहर्स क्लब इलाम, मितेरी फुटबल क्बल तेह्रथुमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
जिल्ला फुटबल संघ पाँचथरले फिदिम माविको खेलमैदानमा अहिलेको अवस्थामा ठूला र स्तरिय प्रतियोगिता आयोजना गर्न नसकिने बताउँछ । फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले खेलमैदानको अवस्था नाजुक रहेकाले आयोजक क्बलले ‘गोल्डकप’ आयोजना गर्न हतार गरेकाे तर्क गर्छन् । आयोजक क्लबले खेलमैदान सुधार गरेर प्रतियोगिता आयोजना गर्ने जानकारी फुटबल संघलाई दिएको अध्यक्ष राईले बताए ।