इलाम । ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । सि डिभिजन टोलि सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा रोक्दै सेमिफाइनल यात्रा गरेको हो । ए डिभिजन टोलि एनआरटी पहिलोपल्ट इलामको मैदानमा उत्रिएको हो । ठुलो टुँडिखेलमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा रोक्दै एनआरटीले सेमिफाइनल यात्रा तय गरेको हो । टाइब्रेकरमा बागमतीविरुद्ध एनआरटी ४-३ गोलले विजयी भयो ।
निर्धारित ९० मिनेट खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै, १५ मिनेटको अतिरिक्त समयमा पनि खेलको छिनोफानो हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । बागमतीका कप्तान देवा गुरुङको प्रहार एनआरटीका प्रिसोले रोकेपछि बागमती पहिलो चरणबाटै घर फर्कियो । बागमतीका लागि विमल घिसिङ, आयुष रानामगर र अभिषेक महतोको प्रहारमात्र गोलमा परिणत भयो भने निर्मल घिसिङको प्रहार बाहिरिएको थियो ।
यस्तै, एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङको प्रहार गोलमा परिणत भएको थियो । प्रतिस्पर्धात्मक खेलको म्यान अफ दी म्याच बागमतीका आयुष रानामगर भए । उनले नगद ५ हजार जिते । गोल्डकपमा भोलि (मंगलबार) एनएसएल टिम बुटबल लुम्बिनी एफसी र पाँचथर फुटबल क्लबबीच हुनेछ ।
गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।