इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपमा पाँचथर फुटबल क्लब लाई रोक्दै झापाको बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बिहिबार ठुलो टुँडिखेलमा भएको खेलमा टाइब्रेकरमा पाँचथरलाई हराउदै उपाधि नजिक पुगेको छ । आज भएको खेलमा झापाले पाँचथरलाई ४-२ गोलअन्तरमा हरायो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो । पाँचथरका अशोक खवासको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले रोक्दा बिजु भुजेलको प्रहार बाहिरिएको थियो । पाँचथरका लागि साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहारमात्र गोलमा परिणत भएका थियो । विजु भुजेल र अशोक खवासले गोल गर्न चुकेका थिए
बिर्तामोडका विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक र रोकेका थिए । तर, एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीको प्रहार गोलमा परिणत भए पछि बिर्तामोड फाइनल पुगेको हो । माघ १३ गते बिर्तामोडले काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । रेडहर्स एफसीले आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफी पाउने छ ।
खेलको म्यान अफ द म्याच विजेता विर्तामोडका सञ्जित राई घोषित हुँदै नगद पाच हजार प्राप्त गरे । माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितालाइ एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।