पाँचथर । प्रायः चिसो हुने फाल्गुनन्द गाँउपालीकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा सोमबार घमाइलो थियो । घमाईदिनमा नौमती बजा, च्याब्रुङ सहित र्याली निस्कियो । यो र्याली कुनै राजनीतिक उत्सव, महोत्सव वा मेलाको थिएन । यो थियो धेरै धान फलाउने किसानको सम्मानमा गाँउपालीकाले निकालेको र्याली । किसानलाई यसरी सम्मान गरेको विरलै देखिन्छ ।
गाँउपालीकाको नीति अनुसार ५० मुरीभन्दा माथि धान फलाउने किसानलाई सम्मान कार्यक्रम गरिएको थियो । किसानहरुलाई बजार घुमाएर सम्मान कार्यक्रम गरिएको थियो । किसानहरुलाई माला लगाएर उचाल्दै, नचाउदै बजार परिक्रमा गराईएको थियो । ५० मुरीदेखि माथि १ सय मुरीसम्म धान फलाउने किसानलाई ३० हजार रुपैँया नगद र १ सय मुरीभन्दा माथि फलाउनेलाई ५० हजार नगद सहित सम्मानीत गर्ने गाँउपालीकाले नीति अघि सारेको थियो ।
पालिकाको जमिन बाझो नहोस भनेर कृषकलाई प्रोत्साहन गर्ने भन्दै गाँउपालीकाले यो नीति अघि सारेको थियो । सम्मानीत हुने मध्येका हिरो थिए फाल्गुनन्द-१ को लाप्चेबुङका मकर बहादुर तामाङले । उनले १ सय ६८ मुरी धान फलाएका थिए । आफ्नो जग्गा नभई अरुको जग्गा अधिया, कुतिया तथा बन्धकी लगाएर उनले यति फलाएका हुन् । निक्कै महेनती किसान तामाङको आफ्नो नाममा दुई रोपनीमात्र खेत रहेको छ । ‘आफ्नो त दुई रोपनी जग्गा हो । निबुखोलमा ४ र लाप्चेबुङमा एउटा खेतमा यतिको धान फल्यो । पालिकका सरहरु आएर भर्दा १ सय ६८ मुरी निस्कियो’ उनले भने ‘किसानलाई सरकारले पनि देख्दो रहेछ खुसि लाग्यो । उहाँहरुले किसानलाइ सहयोग गर्छु भन्नु हुन्थ्यो आज हो रहेछ भन्ने लाग्यो । पचास हजारको चेक र सम्मान पाईयो । म गाँउको किसानलाई यहाँभन्दा खुसि के होला र ?’ उनी उदारणीय देखिएका छन् । उनका अनुसार फलाएको धान मध्ये ७५ मुरी साहुलाई बुझाउने रहेको उनले सुनाए ।
दोश्रो धेरै धान फलाउनेमा फाल्गुनन्द-७का गणेश चेम्जोङ रहेका छन् । उनले १ सय २१ मुरी धान फलाएका थिए । यो सम्मानले कृषि क्षेत्रमा अझै काम गर्ने जोश बढेको उनको भनाई छ । सोमबार गाँउपालीकाले २९ जना कृषकलाई सम्मान गरेको गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले जानकारी दिए ।
उनका अनुसार २७ जना ५० देखि १ सय मुरीको बिचमा धान फलाउने किसान रहेका छन् । ‘फाल्गुनन्दले कृषिलाई प्रमुख प्राथमिकतामा राखेको छ । हामीले किसानलाई प्रोत्साहन गर्न खोजेका हौँ । हाम्रो अझै धेरै कार्यक्रम रहेका छन्’ अध्यक्ष आङदेम्बेले भने ‘अन्यवालीलाई प्रोत्सहान गर्र्छौँ । कृषिलाई व्यवसायिककरण गरेर लैजाने योजना रहेको छ ।’