पाँचथर । फुटबलका ठुला ठुला प्रतियोगिता आयोजना भइरहेको पाँचथरमा चैत्र ११ गतेबाट पाँचौ कुम्मायक गोल्डकप आयोजना हुने भएको छ । कुम्मयक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँचथरका आठ स्थानिय तहहरुको सहभागिता रहने आयोजक कुम्मायक स्पोर्टिङ क्लबले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
यासोक स्थित पृथ्बी माबिको खेलमैदानमा हुने प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । म्यान अफ दि म्याच हुने खेलाडीले नगद ३ हजार प्राप्त गर्ने छ ।
पत्रकार सम्मेलनमै आयोजकले प्रतियोगिताको खेलतालीका समेत सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमै आयोजकले गोला प्रथाबाट खेललातलीका निर्माण गरेका हुन् । खेलतालीका अनुसार समुह ए मा कुम्मायक गाउँपालिका, मिक्लाजुङ, तुम्बेवा र हिलिहाङ गाउँपालिका रहेका छन् । समुह बि मा याङवरक गाउँपालिका, फिदिम गरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल चैत्र ११ गते कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिका बिच हुने छ । १२ याङवरक गाउँपालिका, फिदिम नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ । १२ गतेको दोश्रोखेल तुम्बेवा र हिलिहाङ गाउँपालिका बिच खेल हुनेछ । १३ गते फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका बिच हुनेछ ।
१३ गतेकाे दोश्रो खेल र १४ गते सेमि फाइनलका खेलहरु हुनेछन् । १५ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगिता आयोजना गर्न २२ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको आयाेजक क्लबका अध्यक्ष खेमराज निराैलाले जानकारी दिए ।