पाँचथर । त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहिबार भएको खेलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै अन्तिम दुईमा पुगेको हो । आर्मीले शनिबार उपाधिको लागी आयोजक पाँचथर सँग प्रतिस्पर्धा गर्ने छ ।
निर्धारित समय एक/एक गोलको बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीका सन्तोष केसि,दिपकुमार लामा र मनबहादुर आले मगले गोल गरेका थिए । झापाको लागी कुनै खेलाडीको प्रहार गोलमा परिणत हुन सकेन । झापाका क्पाप्टेन समेत रहेका पेमा तामाङको प्रहार बारमा लाग्दै बाहिरिएको थियो । बिशाल तामाङको प्रहार बारमा लागेर फर्किदा रजिन माझिको प्रहार आर्मीका गोल रक्षक नबिन परियारले रोकेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ४३ औंं मिनेटमा आर्मीका दिपकुमार लामाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ५९ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै झापा खेलमा फर्किएको थियो । झापाका हरिबहादुर आले मगरलाई आर्मीका डिफेन्डरले डिएरियामा फाउल गरे पछि झापाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा झापाको प्रदिप बुढाथोकीले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।
पहिलो हाफमा निकै राम्रो प्रर्दशन गरेको आर्मी दोश्रो हाफमा झापाकाे दबाबमा परेको थियो । दोश्रो हाफमा निरन्तर आक्रमण गरे पनि झापा टाइब्रेकरमा अभागि बन्न पुग्यो ।
आर्मीका दिपकुमार लामा म्यान अफ द म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । निश्चल बाँस्कोटा खेलको फ्यान अफ दि म्याच चुनिए र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचथर गोल्डकपमा फाइनल खेल
आर्मीविरुद्ध पाँचथर क्लब
खेल समय – शनिबार दिउँसो २ बजे