ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक संघर्ष स्पोर्टिङ क्लब र पाहुना टोली भारत सिक्किमको कञ्चनजंघा फुटबल क्लब सिलिगुढी आमनेसामने हुने भएका छन् ।
आगामी भदौ ३ देखि १० गतेसम्म सदरमुकाम फुङलिङमा हुने प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको हो । तालिकाअनुसार भदौ ४ गते पाँचथर फुटबल क्लब र सलहेस युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको तेस्रो प्रतियोगिता भदौ ५ गते बुटबल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङ आमनेसामने हुँदा पहिलो चरणको अन्तिम प्रतिस्पर्धा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाबीच हुनेछ । यो वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लब, कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारत, बुटबल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङ ‘ए’ पोलमा रहेका छन् । पाँचथर फुटबल क्लब पाँचथर, सलहेस युवा क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा ‘बी’ पोलमा छन् ।
भानु जनमाध्यमिक विद्यालयको मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र भइरहँदा खेल तालिका सार्वजनिक गरिएको हो । विगतका भन्दा यो वर्ष फरक टिमलाई निम्त्याइएको आयोजकले बताएका छन् । मधेश प्रदेश र लुम्बिनी प्रदेशको टिमलाई पूर्वी नेपालको खेल मैदानमा पहिलो पटक उतार्न लागिएको छ । आयोजक संघर्ष स्पोर्टिङ क्लब उकाली पानीले जिल्लाकै खेलाडीलाई मैदान उतार्ने तयारी गरेको क्लबका अध्यक्ष सैलेन्द्र गुरुङले बताए ।
आयोजक लाखे जात्रा खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङका अनुसार प्रथमले ५ लाख र द्वितीयले २ लाख ५१ हजार पाउने छन् । गत वर्षसम्म प्रथम ३ लाख र द्वितीय १ लाख ५१ रहेको थियो । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र बाँकी सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई १० हजारका दरले पुरस्कार दिने आयोजकले बताएका छन् ।
५७ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको मुख्यस्रोत टिकट बिक्री रहेको आयोजकले जनाएका छन् । टिकट बिक्रीबाट २५ लाख बढी लिने अपेक्षा आयोजकको छ । टिकट क्वाटरफाइनलसम्म जनही १ सय, सेमीफाइनलमा २ सय र फाइनलमा २ सय ५० रहेको अध्यक्ष गुरुङले बताए । गत वर्ष १९ लाख उठेको थियो । २०२२ सालमा लाखेजात्राको अवसरमा पहिलो पटक भएको प्रतियोगिता २०२९ सालदेखि भने निरन्तर हुँदै आएको छ ।
गत वर्षको उपाधि रेडहर्स फुटबल क्लब इलामले जितेको थियो । यो वर्ष इलामलाई आयोजकले बोलाएको छैन । रनिङ कप नभएर गोल्डकप भएकाले गत वर्षको विजेतालाई बोलाउन बाध्य नरहेको आयोजकले बताएका छन् । गत वर्षको प्रतियोगितामा पनि भारतको दार्जिलिङसहित ८ टिमको सहभागिता रहेको थियो । गत वर्ष भदौ १४ देखि सुरु भएर २० गते सकिएको थियो ।