पाँचथर । कोशी प्रदेशमा अब ट्रायल पास गर्नेबित्तिकै सवारी चालक अनुमति पत्र प्राप्त हुने भएको छ। बुधबारदेखि प्रदेश सरकारले अस्थायी सवारी चालक अनुमति पत्र वितरण सुरू गरेपछि तत्कालै लाइसेन्स पाइने भएको हो। स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरू गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मत कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक रूपमा सेवा सुरू भएको घोषणा गरेका छन्। मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स पाइने व्यवस्था गरिएको बताए।
‘पासपोर्टजस्तै लाइसेन्स पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गर्दैछौं, तपाईंहरूको सहयोग आवश्यक छ,’ उनले भने। आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको जानकारी दिए।
साउन ३२ गते सात वटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोड सहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो। सोही अनुसार सबैभन्दा पहिलो पटक कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो।
कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन्। अब सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्यवस्था सुरू गरिएको छ। जसको समयावधि एक वर्षको हुनेछ। एक वर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाइ समेत प्रदेशबाटै गर्ने तयारी भइरहेको छ।
नयाँ, थप र प्रतिलिपी समेत गरी अहिले कोशी प्रदेशबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन आउने गरेको छ। यातायात व्यवस्था विभागले स्थायी स्मार्ट कार्ड छाप्न ढिलाइ गरेपछि सेवाग्राहीहरू पैसा तिरेको रसिद बोकेर हिँड्न बाध्य थिए।