ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ।
संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए।
‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं। अब काम द्रुत गतिमा हुन्छ,’ केदेमले भने। पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए।
यसअघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए।
पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए। उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ।
पाथीभरामा केवलकार निर्माण कार्यका लागि गएको कम्पनी, केवलटार निर्माणको विरोध गर्दै आएको समूह र प्रहरी बीचको झडपमा प्रहरीसहित ६ जना घाइते भएका छन् ।
तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ भने अन्य तीन जना सामान्य छन् ।झडपमा केवलकारको बिरोध गर्दै आएका फुङलिङ नगरपालिका–४ का चन्द्र मादेन, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनका सवारी चालक दामोदर अधिकारी र पाथीभरा क्षेत्रमा मान्छे बोक्ने काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । केवलकार बनाउने पक्षका मेरिङदेन–४ का कुमार शेर्पा, सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनाश माझी सामान्य घाइते भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ ।
पाथीभरा माता केवलकार कम्पनीले पाथीभराको काफ्लेपाटीदेखि मन्दिरसम्म केवलकार निर्माण गर्न लागेको हो । यसको नेतृत्व उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले गरेका छन् । ढकालले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका यति समूहका छिरिङ शेर्पाको समूहबाट केवलकार कम्पनी आफ्नो मातहत लिएका हुन् । फुङलिङ नगरपालिकाले पाथीभरा माता केवलकार कम्पनीलाई चार वर्षका लागि दिएको अवधि सकिएपछि दोस्रो पटक म्याद थप गरेको छ । केवलकार कम्पनीले हिमालय कन्ट्रक्सनलाई सशस्त्र प्रहरी बेसक्याम्प बस्ने भवन निर्माणलगायतको संरचना निर्माणका लागि ३४ करोडको ठेक्का सम्झौता गरेको छ ।
हिमालयन कन्ट्रक्सनले सेवालुङ निर्माण सेवा लगायतसँग साझेदारी गरेको छ । केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समितिलगायतका ७ संस्थाले निर्माणको विरोध गर्दै आएका छन् । निर्माण कम्पनी शुक्रबार कामको सुरुवात तथा शिलान्यासका लागि गएका थिए । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनलगायतले निर्माणस्थलमा पाथीभराको फोटो राखेर शिलान्यास गरेका थिए ।
त्यसपछि काफ्लेपाटी फर्किएर खाना खाएका थिए । निर्माण कार्यक्रममा नगरपालिका प्रमुख मादेन, संविधानसभा सदस्य तुम्वाहाम्फेसहित उद्योग वाणिज्य संघलगायतको टोली काफ्लेपाटी पुगेका थिए । निर्माण कम्पनिले सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प निर्माणका लागि काफ्लेपाटी बजारमा मैदान सम्याएको थियो ।
त्यसपछि त्यहाबाट करिब आठ सय मिटरमा रहेको केवलकार निर्माणस्थलमा लैजान स्काइभेटर मेसिन हिँडाएको थियो । उक्त मेसिन केवलकार खारेज गर्ने पक्षले अगाडि बढाउन अबरोध गर्यो । झडपको सम्भावना देखेपछि प्रहरीले स्काइभेटर रोकेर चाबी नियन्त्रणमा लियो ।
एक घण्टासम्म दुबै पक्ष सामान्य अवस्थामा बसे । त्यसपछि निर्माण पक्षले प्रहरीलाई स्काइभेटर मेसिनको चाबी मागे । प्रहरीले दिन मानेन । यतिनै बेला दुई पक्ष बीच ढुंगा हानाहान सुरु भयो । यही क्रममा मादेन, अधिकारीलगायतका ब्यक्ति घाइते भए । नगरपालिका प्रमुख मादेनलगायतले चाबी दिन कि सुरक्षा दिन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोनबाट दबाब दिए ।
स्थानीय प्रशासनले निर्माणमा साथ नदिएको उनको गुनासो छ । त्यसपछि मेसिनलगायतको उपकरण काफ्लेपाटीमै छोडेर निर्माण कम्पनी फर्किएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा र प्रहरी प्रमुखले आफुहरुले निर्माणको वातावरण बनाउने र फर्किदिन अनुरोध गरेकोले शुक्रबार फर्किएको निर्माण कम्पनीका प्रोपाइटर इन्द्र केदेम बताउँछन् ।
प्रशासनले यो वातावरण नबनाए एक/दुई दिनमै आफूहरुले जाने र काम थाल्ने उनले बताए । ‘मैले कामको जिम्मेवारी लिएपछि त्यो पूरा गर्नुपर्छ, म कसैसँग झडप गर्न गएको होइन तर आफुहरुमाथि बदनियत राखे त्यसको जिम्मेवार राज्य र बिरोधी पक्ष हुनुपर्छ,’ केदेमले भने ।
लिम्बु समुदायको ऐतिहासिक मन्धुमी स्थल भएकाले यहाँ केवलकार नबनाइनु पर्ने स्थानीयले पहिल्यैदेखि बिरोध गर्दै आएका थिए । विरोध गर्दै आएको समूहले भने निर्माण पक्ष सांघातिक रुपमा उत्रिएको तर राज्यले निरिहता देखाएको आरोप लगाएको छ । ‘हामी सम्यमित भएर बिरोध जनाएका हौं तर दमनको नीति लिइएको छ,’ बिरोध गर्दै आएका श्रीलिंखिमले भने ।