पाँचथर । ताप्लेजुङ / पाँचथर देखि इटहरी जोड्ने तमोर करिडोर सडकमा करीब ४ करोडको लागतमा अत्याधुनिक प्रविधिको पेट्रोल पम्प सञ्चालनमा आएको छ । । ताप्लेजुङ / पाँचथर लाई इटहरी बिराटनगर जोड्ने सडकमा बढ्दो सवारीसाधनको चापलाई दृष्टिगत गर्दै अत्याधुनिक सुविधासहितको किरात पेट्रोल पम्प सञ्चालनमा आएको हो ।
पाँचथरको कुम्मायक गाउँपालिका -५ स्थित भुल्केमा सञ्चालनमा आएको उक्त पेट्रोलपम्प यूरोपियन मापदण्डका आधारमा निर्माण गरिएको छ । मुलुकका सुविधासम्पन्न शहरमा भएका पम्पमा हुने सबै सुविधा सो पेट्रोलपम्पबाट दिइने सञ्चालक सुमन लामाले बताए ।
तमोर करीडोर सडकबाट ताप्लेजुङको पबित्र तिर्थ स्थल पाथिभरामा जाने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्यामा क्रमशः वृद्धि हुँदै जानु र ठूलो क्षमताका पम्पहरू नहुँदा समयसमयमा पेट्रोलियम पदार्थको अभाव सृजना हुने गरेको अवस्थालाई दृष्टिगत गर्दै आफूले पम्प सञ्चालनमा ल्याएको लामाले जानकारी दिए ।
अत्याधुनिक डिजिटल प्रविधिबाट सञ्चालन गरिने पम्पमा ३४ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल गरी ५० हजार लिटर भण्डारण क्षमता रहेको छ । लामो दूरीका सवारीसाधन पार्किङ गर्ने, दुईतर्फबाट सवारीसाधन जान आउन सक्ने र एकै पटकमा आठ ओटा सवारीसाधनले इन्धन भर्न सक्ने बनाइएको छ । चारैतर्फ सीसी क्यामरा जडान गरिएको र पार्कसमेत निर्माण गरिएको सो पेट्रोलपम्पमा नजिकै होटल तथा ग्यारेज समेत सञ्चालनमा ल्याइएको सञ्चालक लामाले बताए ।
यसअघि उक्त सडकमा एउटा पनि पम्प सञ्चालनमा आएका थिएनन् ।