ताप्लेजुङ । ‘नो केबलकार समूह’ले सरकारसँगको वार्ताका लागि तीन प्रस्ताव अघि सारेका छन् । केबलकार निर्माणको काम रोकिनु पर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिना सर्त रिहा हुनुपर्ने माग रहेको छ ।
यस्तै आन्दोलनकारीले दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायमै राखेका छन् । राजमार्गको ठाउँ ठाउँमा बसेका कार्यकर्ताले मोटरसाइकलदेखि ट्याम्पो र अन्य सवारी चल्न दिएका छैनन् । जसका कारण अस्पताल जाने बिरामी र सर्वसाधारण नागरिक मारमा परेका छन् ।
कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले मंगलबार औपचारिक वार्ताको लागि आव्हान गरेको छ । तर वार्ताको विषयमा आफूहरूलाई जानकारी नभएको र आधिकारिक सूचना पनि नआएको किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए । उनले प्रदेश सरकारसँग वार्ता गर्नुको खासै औचित्य नहुने पनि जनाए । ‘यो (केबलकार) संघीय सरकारले गरेको निर्णय हो त्यसैले संघसँगको विषय हो,’ उनले भने, ‘प्रदेशले गरेको निर्णय पनि हामीले सञ्चार माध्यममा देखेको हो आधिकारिक सूचना छैन ।’प्रदेश सरकारको वार्ता समितिका सदस्य सचिव कमल थापाले आन्दोलनमा को को हुनुहुन्छ थाहा नभएकाले सार्वजनिक रूपमा आव्हान गरेको बताए । यही जानकारी नपाएको भन्नु भए समितिमा छलफल हुने उनले बताए । समितिले गरेको निर्णयमा वार्तामा आउन वा समितिका सदस्यसँग औपचारिक अनौपचारिक सम्पर्क गर्न भनिएको छ ।
गृहमन्त्री रमेश लेखकले पनि मंगलबार ताप्लेजुङ, इलाम, सङ्खुवासभाका सांसदसँग छलफल गरेका थिए । छलफलमा सहभागी प्रतिनिधिसभाका सांसद योगेश भट्टराईका अनुसार आवश्यक परे संघले पनि वार्ता गर्ने मनस्थिति बनाएको छ । ‘केबलकारको विषय पर्यटन र भौतिक पूर्वाधारसँग सम्बन्धित भएकाले यी मन्त्रालयसँग समन्वय गरेर वार्ता समिति बनाउने मनस्थिति गृहमन्त्रीको रहेछ,’ भट्टराईले भने, ‘कुनै मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाउने उहाँ (गृहमन्त्री) ले सुनाउनु भयो ।’
प्रदेशको वार्ता समितिमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई सदस्य, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी सदस्य र निमित्त प्रदेश सचिव कमल बहादुर थापा सदस्य सचिव रहेका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो ।
प्रहरीले लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई त्यही दिन पक्राउ गरेको छ भने आन्दोलनको नेतृत्व गरेको र प्रमुख अधिकारी नेत्रप्रसाद शर्मालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा प्रदीप मादेनलाई मंगलबार सदरमुकाम फुङलिङबाट पक्राउ गरेको छ । माघ १२ गतेको झडपमा घाइते तीन जनाको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । सरकारले उक्त झडपमा २१ प्रहरी र पाँच जना नागरिक घाइते भएको जनाएको छ ।
संघीय सरकारसँगको विषय भए पनि प्रदेश सरकारको औपचारिक पत्र आए वार्ताको विषयमा पुनर्विचार गर्न सकिने मनस्थिति आन्दोलनरत समूहको छ ।