पाँचथर । आन्दोलनरत पहिचानवादी पक्षधरले जारी आन्दोलन र पाथीभरामा निर्माण केबलकारको विषयमा कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने बताएका छन्।
आन्दोलनरतमध्ये किरात थाक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापाेले सरकारले वार्ता आह्वानको विषयमा कुनै जानकारी नभएको बताए।
आफूहरू गोली खाएर घाइते भएकोहरूको उपचारमा अस्पतालमा रहेको जनाउँदै उनीले भनिन्, ‘हामी अस्पतालमा घाइतेहरूलाई उपचार गराइरहेकाछौ। कता कुन सरकारले वार्ताको लागि आह्वान गरेको हो। हामीलाई आधिकारीक रुपमा जानकारीमा भएन। उहाँहरूले आफ्नै माननीय ज्यूहरूलाई आह्वान गर्नुभएको होला। यो अवस्थामा वार्ता गर्ने स्थित छैन।’
गत शनिबार पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा प्रहरी र असन्तुष्ट पक्षबीच भएको झडपमा २६ जना घाइते भएका थिए। जसमा गोली लागेकाहरूलाई काठमाडौंको शिक्षण अस्पतालमा उपचारका भर्ना गरिएको छ। सोही क्रममा प्रदेश सरकारले मंगलबार असन्तुष्ट पक्षसंग वार्ताको लागि आह्वान गरेको थियो।
यसबारे किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले प्रदेश सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको जानकारी दिए। अध्यक्ष येक्तेनले आन्दोलन र दमनको सबै विषय केन्द्रसँग जोडिएका कारण प्रदेशसँग वार्ताको औचित्य नरहेको बताएका हुन्।
प्रदेश सरकारले गत मंसिर २४ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापासहितको वार्ता टोली बनाएको थियो।
देशसञ्चारबाट