काठमाण्डाैं । ताप्लेजुङमा केबुलकार निर्माणलाई लिएर उत्पन्न विवादपछि गठित सरकारी वार्ता टोली र आन्दोलनरत ‘नो केबुलकार’ पक्षबीच वार्ता सुरु भएको छ । आन्दोलनमै रहेका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले होटल हिमालय कुपन्डोलमा दुवै पक्ष वार्तामा रहेको बताए ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राकेश गुरुङ र शहरी विकास मन्त्रालयका उपसचिव झपटसिंह विश्वकर्मा छन् ।
प्राज्ञ अमर तुम्याहाङले नेतृत्व गरेको ‘नो केबुलकार’ पक्षबाट वार्ता टोलीमा अधिवक्ता शङ्कर लिम्बू, राम मादेन, सरस्वता सिंगक रहेका छन् ।
यसअघि ‘नो केबुलकार’ले कर्मचारीको नेतृत्वमा गठित वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नसक्ने भन्दै अस्वीकार गरेको थियो । अन्ततः सोही समितिलाई स्वीकार्दै आन्दोलनरत पक्ष वार्ता गर्न तयार भएको हो ।