ताप्लेजुङ । प्रहरी र ‘नो केबलकार समूह’बीच भएको झडपका क्रममा प्रहरीको नियन्त्रणमा रहेका आन्दोलनरत समूहका सबै बन्दी रिहा भएका छन् ।
ताप्लेजुङका तीन, झापा दमकका ८ र सुनसरी धरानका ६ जना रिहा भएको किरात याक्थुम चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङलिवाले बताए ।
ताप्लेजुङमा रहेका तीन जनालाई अदालतले धरौटीमा छोडेको छ भने दमक र झापाका ८ जनालाई बिना सर्त रिहा गरिएको हो । जिल्ला अदालत ताप्लेजुङले पहिचानवादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन (नानी) लाई १० हजार सिदिङ्वा गाउँपालिका ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बूलाई पाँच–पाँच हजार रुपैयाँ धरौटीमा छोडेको छ ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटनापछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीनजनालाई नियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार राति भएको सहमति अनुसार छिटो अदालती प्रक्रिया पूरा गरी छाडिएको हो ।