इलाम । आज साँझ इलामको करफोकमा सांगीतिक ब्यान्ड कन्दराको कन्सर्ट आयोजना गरिँदैछ। सूर्याेदय नगरपालिकास्थित करफोक खेलमैदानमा हुने कन्सर्टका लागि सबै तयारी पूरा गरिएको आयोजकले जनाएको छ।
सूर्याेदय होटल व्यवसायी संघले पर्यटन प्रवर्द्धन र स्थानीय धार्मिकस्थलसमेतको प्रचारका लागि ऐतिहासिक क्षेत्र करफोकमा कन्सर्ट आयोजना गरेका हुन् । मेची क्षेत्र (इलाम, पाँचथर, ताप्लेजुङ र झापा)मै कन्दरा ३२ वर्षपछि प्रत्यक्ष प्रस्तुत हुनलागेको हो । कन्दराको टोली हिजो नै इलाम आइपुगेको छ।
कन्सर्टमा इलाम, पाँचथर, ताप्लेजुङ, झापासहित कोशी प्रदेशका सबै जिल्लाबाट सहभागी आउने आशा गरिएको छ। आयोजकका अनुसार तीन दशकपछि कन्दराले यहाँ प्रस्तुति दिने भएपछि नेपालीमात्र होइन, सीमा जोडिएको भारतका विभिन्न ठाउँबाटसमेत कन्सर्टमा सहभागी हुन दर्शक आउनेछन्।
कोशी प्रदेश र भारतीय सीमावर्ती दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत क्षेत्रमा पनि प्रचार गरिएको छ। ‘यसअघि पनि करफोकमा भएका सांगीतिक कार्यक्रममा भारतीय गाउँ–सहरबाट उल्लेख्य दर्शक आएका थिए,’ आयोजक संस्थाका शरण फागोले भने, ‘यसपटक पनि आउनेछन् ।’
आयोजकले कन्सर्टबाट सांगीतिक प्रस्तुतिमात्र नभई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुनेसमेत आशा गरेको छ । ‘संकलित नाफा करफोक खेल मैदान मर्मतसम्भार, ऐतिहासिक पञ्चकन्या मन्दिरको प्रचारप्रसार र मन्दिर परिसर मर्मतमा खर्च गरिनेछ,’ फागोले भने, ‘करफोक विद्या मन्दिरका विद्यार्थीका लागि अक्षयकोष स्थापनामा पनि सहयोग गर्नेछौँ।’
स्थानीय होटल र कृषि उत्पादनको प्रोत्साहन, युवालाई सामाजिक कार्यमा आकर्षित गरी लागुऔषध प्रयोग रोक्न पनि यो कार्यक्रमले सघाउने आयोजकको आशा छ। ब्यान्डमा गायक विवेक श्रेष्ठसहित सुनील थापा, हरि महर्जन, गितारवादक देव लामा, पंकज झा र सुन्दर महर्जन सदस्य छन्।