काठमाण्डाै । यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई पराजित गरेको छ। जर्मनीको फुटबल एरेना मुनिखमा सम्पन्न समूह ‘एफ’को खेलमा जर्मनीले ४-२ गोलको जित निकालेको हो।
जर्मनीले राम्रो पकड बनाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो। रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गरे। तर, पोर्चुगलले पहिलो हाफमा ४ मिनेटको अन्तरमा दुई आत्मघाती गोल गर्दा २-१ ले पछि पर्यो। ३५ औँ मिनेटमा रुबेन डियाज र ३९ औँ मिनेटमा राफायल गुरेरोले आफ्नै पोस्टमा गोल गर्न पुगे।
जर्मनीको दबदबा दोस्रो हाफमा पनि कायम रह्यो। जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो। ५१ औँ मिनेटमा काई हाभेर्चले र ६० औँ मिनेटमा रोबिन गोसेन्सले गोल गरे। ६७ औँ मिनेटमा डिओगो जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउन खोजेपनि त्यो जितको लागि पर्याप्त भएन।
योसँगै जर्मनीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यसअघि जर्मनी फ्रान्ससँग पराजित भएको थियो।