वीरगन्ज । वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणको ब्यारेकमा कार्यरत नेपाली सेनाका एक जवानले आफैलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।
वीरगन्जस्थित सेनाको ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ सतवरिया टोल घर भएका सेनाका जवान श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेका हुन् ।
आइतबार राति ब्यारेकमा ड्युटीमा खटिएकै बेला चौहानले आफूसँग रहेको स्वचालित बन्दुकले आफैलाई गोली हानेका हुन् । गोली चौहानको चिउडोबाट छिरेर आँखा नजिकैबाट निस्किएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।
गम्भीर घाइते चौहानको अहिले वीरगन्जकै नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । नेपाली सेनाका चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले अवस्था गम्भीर रहेका चौहानलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित सैनिक अस्पतालमा लैजाने तयारी गरिएको राणाले बताए ।
गोली लागेर घाइते भएका चौहानलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले घाइते चौहानको अवस्था हेर्दा ड्युटीमा रहेका बेला उनले आफैले आफैलाई गोली हानेको जस्तो देखिएको बताए ।
यस बारेमा सेनाले नै अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए ।
नेपाली सेनाका चण्डी प्रसाद गणका गणपति कर्णेल राणाले भने हतियारसहित ड्युटीमा रहेको बेला त्रुटी भएर बन्दुक पड्किएको हुनसक्ने बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।