काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकको कम्युनिस्ट मोर्चाबन्दी गर्ने विषयमा छलफल भएको छ।
आफ्ना पार्टीका नेता कार्यकर्ताको मुद्दा फिर्ताका विषयमा छलफल गर्न बिहीबार विहान कोटेश्वर पुगेका विप्लव र नेता नेपालबीच कुराकानी भइरहेको बेला प्रचण्ड नेपाल निवास पुगेका थिए।
एकै समयमा तीन वामपन्थी नेताभेट भएसँगै कम्युनिस्ट पार्टीकाबीचमा मोर्चाबन्दी गर्नेबारे छलफल भएको हो।
केपी ओलीसँग तिक्तका कारण प्रचण्ड र नेपालले उनी बाहेकको कम्युनिस्ट मोर्चाबन्दी बनाउनु पर्नेमा जोड दिइरहेका छन्। ओलीसहितको कम्युनिस्ट केन्द्र बनाउन सहज नहुने भएपछि विचार मिल्ने कम्युनिस्ट पार्टीहरुबीच तत्काल मोर्चाबन्दी गरेर जानुपर्ने विषयमा तीन नेताबीच छलफल भएको विप्लव नेतृत्वको नेकपा एक नेताले बताए।
‘अहिले ओली कमरेड बाहेकका कम्युनिस्टसँग एकता गर्न सम्भव छैन’ उनले भने, ‘तत्काल कम्युनिस्ट केन्द्र जस्तो बनाएर मोर्चाबन्दी गर्न सकिने विषयमा छलफल भयो।’
यसअघि बुधबार प्रचण्ड, विप्लव र धमेन्द्र बाँस्तोलाबीचको भेटमा पूर्व माओवादी एक ठाउँमा उभिनुपर्ने विषयमा छलफल भएको थियो। तर प्रचण्डले पूर्व माओवादी मात्रै नभएर परिवर्तनकारी सबै कम्युनिस्टहरुबीच सहकार्य गरेर जाने दिशातिर अघिबढ्नुपर्ने धारणा राखेका थिए।
तर, छलफलमा सहभागी नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोलाले आफूहरुबीचमा आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दाफिर्ताका विषयमा मात्रै छलफल भएको दाबी गरे।
‘हामीले जतिपनि पार्टी नेतृत्वतहमा बसेकालाई भेटेका छौं, उहाँहरुसँगको भेटमा नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा छलफल गरेका छौं’ बास्तोलाले भने,‘विचार मिल्ने कम्युनिस्ट पार्टीहरुसँग एकता र सहकार्य नेता कार्यकर्ताको रिहाइ, मुद्दाफिर्ता भएपछि छलफल गर्न सकिन्छ।’
विचार मिल्दै गएमा कम्युनिस्टहरुको मोर्चाबन्दी वा एकता ठूलो कुरा नभएको बाँस्तोलाले जिकिर गरे। तर, विप्लवसहित कम्युनिस्ट केन्द्र बनाउन त्यति सजिलो भने देखिएको छैन्। नेताहरु भेटमा भावुक भएपनि मोर्चाबन्दी वा एकतामै जाने अवस्थामा आउन भने निक्कै सकस पर्ने निश्चित छ। एमालेमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल गर्ने व्यवहारले अन्य विषय निर्धारण हुँदै जाने सम्भावना देखिएको छ।