काठमाडौं । यसअघिको प्रचलन विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधीवक्ता खम्मबहादुर खातीको सपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गरेकी छन्। राष्ट्रपति भण्डारीको अस्वीकारसँगै खातीले सर्वोच्च अदालतमा सपथ ग्रहण गरेका छन्। महान्यायाधीवक्तालाई प्रधानन्यायाधीशले सपथ खुवाउने व्यवस्था छ।राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले सपथ खुवाउने भएकाले उतै परिपत्र गरिएको जानकारी खातीलाई दिएको थियो। यसअघि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायधीशले सपथ खुवाउने गरेको भए पनि यसपटक राष्ट्रपति भण्डारी उपस्थित भइनन्।
यसअघिका सरकारका पालामा नियुक्त दुई महान्यायाधीवक्ता अग्नि खरेल र रमेश बडालले भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा नै शपथ खुवाएका थिए।
शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दाको भाषालाई लिएर असार २९ गते राष्ट्रपति र प्रधानमन्त्रीबीच असमझदारी उत्पन्न भएको थियो। सोही अनुसार, देउवाको सपथ समारोह अढाइ घण्टा ढिलो भएको थियो। राष्ट्रपति (कार्यालय)को पछिल्लो भूमिकालाई प्रधानमन्त्रीमा देउवा आगमनलाई नरुचाएको अर्थमा विश्लेषण भइरहेको छ।