काठमाडौं । जनता समाजवादी पार्टीमा संसद तानातान सुरु भएकाे छ । महन्थ पक्षका छ संासदले साथ छाडेकाे बताइएकाे छ । जसपामा सत्तासंघर्षले औपचारिक विभाजनको नजिक छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । अर्का अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । उनको साथ अझै ओलीलाई नै रहेको छ ।
देउवा कि ओली भन्ने विषयले जसपा विभाजनतर्फ बढेको छ । देउवालाई जसपाको उपेन्द्र यादव समूहका १३ सांसदले साथ दिएका थिए । कुल ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा १९ सांसद देखिएका थिए ।
सत्ताको खेलले अब यादव र ठाकुरसँग कति सांसद रहने हुन् ? चासोको विषय बनेको छ । मन्त्री बन्न नपाए यादवलाई साथ छाड्ने सांसदहरुको संख्या बढ्न सक्छ । मन्त्री बन्नका लागि ठाकुर समूहबाट गुट परिवर्तन गर्नेहरु पनि हुन सक्छन् । यसले जसपाभित्र गुटको अंकगणित फरक पर्न सक्छ ।
कतिपय सांसदहरु तटस्थ जस्तै छन् । अबका दिनमा उनीहरुको भूमिकाबारे चासो रहनसक्छ ।
उपेन्द्र यादव समूह तत्काल सरकारमा सहभागी भएको छैन । यादव समूहले पाउने मन्त्रालय र को को सरकारमा जाने विषयले सांसद संख्यामा तलमाथि पर्न सक्छ । उपेन्द्रसँग रहेका डा.बाबुराम भट्टराईले पनि आफू निकटस्थहरुलाई मन्त्री बनाउन प्रयास गर्न सक्छन् । यसले पनि अवस्था फरक पार्न सक्छ ।