पहिलो दिन
लकडाउन भएको पनि तीन महिना भईसकेको थियो। गाउँघरमा मकैमा मल लगाएर भर्खर मात्र सकिएको थियो। चारै तिर हरियाली, खोलाहरूमा मज्जैले साउने मुलहरू फुटेका थिए। जङ्गलमा डोको बोकी च्याउ टिप्ने जानेहरूको राम्रै भिड देखिन्थ्यो। केही दिनदेखि पानी निरन्तर परिहरेको थियो। मन भने सिरसिरे बतास झैँ बहकिरहेको थियो। कता जाउँ के गरु, कसलाई भनुँ एक किसिमको बेचैनीले ढुलमुलिएको थियो। घरको ढोकामा बसेर कहिले कोशी (ङाकु) नदिको उग्र रुप हेर्थेँ त कहिले लिखु (लिकु) खोलाको चुलबुल अनि कहिले चाहिँ लिकु पारी रामेछाप जिल्लाको कमिलाको ताँती जस्तै बल्ङब्ङ् गाउँ हेर्दै चित्त बुझाउँथे। कोर्जु श्याँदर थान नगएको धेरै भएकाले भोलिपल्ट पानीको बोतल र केही खाजा बोकेर कोर्जु पनि घुमियो। तर पनि मन भने शान्त भएन। मनलाई बाँधेर बाँध्न कहाँ सकिँदो रहेछ र? छटपटी झनै उग्र हुँदै गएपछि अन्तत: केही दिनको लागि गर्मी छल्न भए पनि चित्रे र श्रीचौरको लेक तिर भौतारिन जाने निर्णय गरियो। झोलामा केही औषधी, ड्राई फुड अनि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था गरेर भाइसँग बिहानै घरबाट निस्कियौँ। हामीलाई थाहा थियो यस्तो अवस्थामा हामीलाई निकै अप्ठ्यारो पर्न सक्छ, बास बस्ने होटल भेटिँदैनन् होला। हामीलाई प्रहरी प्रशासनले रोक्ने डर पनि थियो। तर पनि हामी जनस्वास्थ्यको मापदण्ड अपनाएर जहाँसम्म जान पाइन्छ त्यहाँसम्म जाने अठोटको साथ हिँड्यौँ। मानसिक रुपमा आफुलाई निकै बलियो बनाउँदै अगाडि बढ्यौँ। यातायातका साधनहरू चलेका थिएनन् । देश लकडाउनले पुरै ठप्प थियो, मध्ये पहाडि र सिद्धिचरण लोक मार्गमा कुनै सवारी साधन चल्न दिईएको थिएन। त्यसैले हामी घरबाटै उत्तर दिशाको भर्खरै मात्र ट्र्याक खोलिएको कच्ची सडक तथा मान्छे हिँड्ने पुरानो मुलबाटो हुँदै यात्रा शुरु गर्यौँ। बिहान झिसमिसेमै गाउँ कटेर पलापु भञ्ज्याङबाट ताप्के डाडाँको उकालो शुरु गरिसकेका थियौँ। पलापु भञ्ज्याङ् नपुग्दै पानी पर्न थालिसकेको थियो। केही समयमात्र उकालो हिडेका थियौँ कहीँ परबाट गाडि आईरहेकोजस्तो आवाज सुनियो। खाद्य सामग्री लिन ओखलढ्ङ्गा सदरमुकाम जान लागेको ट्याक्टर रहेछ। फलाँटे हुँदै श्रीचौर तिर लाग्ने योजना अनुसार केही माथि उकालोसम्म त्यही ट्याटरमा जाने निर्णय गर्यौँ। ट्याक्टर चढेको केही समय मात्र भएको थियो, काङ्लाङ् पानीको मुहान पारी पुगेको थियौँ सडक मुनिबाट एउटा अधवैशे चितुवा टुप्लुक्क हामी भन्दा अगाडि आएर हामीलाई हेर्यो। जीवनमा पहिलो पटक आफ्नै आँखा अगाडि चितुवा देखेर होला भाई निकै रोमाञ्चित हुँदै ठूलो स्वरमा चितुवा-चितुवा भन्दै करायो। हामी चार जना उसलाई हेर्ने र उ हामीलाई हेर्ने, मैले हतार हतारमा क्यामेरा झिकेर फोटो लिने प्रयत्न गरेँ तर हाम्रो हो–हल्लाले केही समय पश्चात चितुवा बाटो माथि लाग्यो। हाम्रो केही समयको जम्का भेट पछि उ आफ्नो बाटो लाग्यो, हामी पनि आफ्नो बाटो लाग्यौँ। सुन्दा कुनै लेखकले बन्द कोठा भित्र आफुले आफैलाई कैद गरेर लेखेको काल्पनिक कथा जस्तो लाग्न सक्छ तर त्यो वास्तविक अनि जीवन्त थियो। घुम्न निस्केको केही समयमै यसरी आफ्नै ठाउँमा, आफ्नै आँखा अगाडि आमनेसामने लोपोन्मुख जीवसँग आँखा जुधाउन पाउँदा कस्को मन पो रोमान्चित हुँदैन र? यस्ता दृश्य हेर्न सँधै कहाँ शौभाग्य जुर्छ र? सायद बिरलै देख्न पाईन्छ। सुनेको थिएँ गत वर्ष गाउँ आसपास र वडा नं. २ नवलपुर तिर धेरै किसानहरूको घरपालुवा जनावरहरू मारेको थियो। एउटा किसानको त झन् खोर भित्रै पसेर ६ ओटा बाख्रा र खसीहरू मारेको थियो। यो घटना ताजै भएकाले कता कता मन अलि चिसियो। करिब दुई घन्टापछि हामीलाई ट्याक्टरले छोड्ने गन्तव्य फलाँटे भञ्ज्याङ् पुगियो तर बाटोको घटनाले मनमा डर उब्जायो। सिमसिम पानी परिरहेको थियो, दुई जना त्यो जङगलमा झरेर कता जाने थाहा थिएन। हामी अरुको भनाई सुनेर आएका थियौँ बाटोमा मान्छेहरू पनि त्यति हिँडेका थिएनन्। हामीले ट्याक्टरवालाई ओखलढुङ्गा पुग्न लाग्ने समय सोध्यौँ र दुई घन्टामा पुग्ने जानकारी पाएपछि त्यसैमा चढेर ओखलढुङ्गासम्म जाने त्यसपश्चात पत्ताले सम्म जसरी भए पनि पुग्ने निर्णय गरेर लागियो ओखलढुङ्गा तिर। ओखलढुङ्गा पुग्दा लगभग दिउँसो ३ बजेको हुँदो हो, पहाडको टुप्पोमा कुहिरो भित्र लुकेको एउटा सानो सुनसान बजार, धानका हरियाली बालाहरू लर्केका पारी रुम्जाटारको फाँटहरू अनि कुहिरोले कहिले छोप्दै त कहिले खुल्दै गरेका पारी खोटाङको हलेसी डाडाँलाई नियाल्दै केही समय चिया पिउँदै बस्यौँ।
अब हामी पत्तालेको लागि निस्कने कि यतै बस्ने भनेर दोधारमा पर्यौँँ। हिँडेर जादाँ त्यही दिन पुगिँदैन, गाडिमा जाउँ यातायातका साधनहरू चलेको थिएन। साँझ ५ बजे पछि बजारमा केही चहलपहल शुरु भयो। साझँ झमक्कै हुँन लागिसकेको थियो, मनमा आज यहाँसम्म आउनु नै ठूलो गल्ति भयो भन्ने आत्मग्लानि भइरहेको थियो। होटल खोज्ने तरखर शुरु गरिसकेका थियौँ। तर, भाग्य वश केहीबेरपछि सल्लेरी सम्म जाने एउटा टाटा सुमो भेटियो। पहिले भन्दा दोब्बर भाडाको दरमा हामी पत्तालेसम्म जाने भयौँ र हामी ओखढुङ्गाबाट साढेँ ६ बजे तिर पत्तालेको लागि निस्कियौँ। यातायातका साधन नपाइने हुनाले हामीले बाटोमा जाँदाजादै त्यही गाडीमा पत्ताले भन्दा अगाडि जाने सोच्न थालिसकेका थियौँ। सुमोका चालक र सवार केही यात्रुले सल्लेरीसम्म जानु र त्यो भन्दा माथि घुम्ने ठाउँहरू र भेडाको ठूलै बथानहरू भेटिन सक्छन् र सल्लेरी एकदमै रमाईलो भएको बताएपछि मन फेरी पत्तालेमा नअल्झिने पक्का भयो। पत्ताले पुग्दा रातको लगभग साढेँ सात बजिसकेको थियो, बाक्लो कुहिरो लागेको हुनाले केही पनि देख्न सकिँदैन थियो। पत्तालेमा गाडि रोकियो, हामीसँगै आएका केही यात्रु त्यहीँ झरे। के गर्नु हुन्छ? गाडीले चालकले पुन: निधो गर्योर हामीलाई, हाम्रो योजना अनुसार पत्ताले नै गन्तब्य थियो तर, गाडिबाट झारिसकेको झोलाहरू फेरी गाडिमा राखेर सल्लेरी तिर बत्तासियौँ। सल्लेरी पुग्दा रातको लगभग ९ बजेको हुँदो हो, सल्लेरीका सबैजसो होटलहरू बन्द थियो। होटल पाउन खासै मुस्किल भएन तर सोधपुछ चाहिँ निकै गरियो, अलि शंकाले पनि होला त्यसलाई हामीले अन्यथा सोचेनौँ।
दोस्रो दिन
भोलिपल्ट बिहान सबेरै उठियो, बाक्लो कुहिरोले सल्लेरी बजारलाई घुम्टोले ओडे झैँ ओडेको थियो। बिहानैदेखि सिमसिम पानी परिहेको थियो। सल्लेरी बजार वरपर केही समय घुम्यौँ। कता जाने केही योजना नै थिएन, साँच्चै भन्ने हो भने केही समयको अन्तरालमै हाम्रो गन्तब्य परिवर्तन हुन्थ्यो। जता गए पनि चिसो ठाउँ लेकतिरै जानु पर्छ है भन्ने चाहिँ याद थियो। त्यसपछि गुगलमा सल्लेरी वरपर घुम्ने ठाउँहरू खोज्न थाल्यौँ। खोज्दै गर्दा निकै गजबको ठाउँको नाम याद आयो “जूनबेँशी” अरु धेरै केही सोचिएन झोला बोकेर उतै तिर हिड्यौँ। हुन त सल्लेरीबाट जूनबेँसीसम्म टाटा सुमोहरू पनि जाने रहेछ। तर, हामी पिन्जडामा थुनेर राखेको चरी झैँ थियौँ। मौका पाउसाथ उड्न चाहान्थ्यौँ, भाग्न चाहान्थ्यौँ अनि खोलानाला, वनजङगल र सिमसिमे पानीमा रुझ्न चाहान्थ्यौँ। त्यसैले हामी हिडेरै जाने निर्णय गर्यौँ बेनी हुँदै सोलुखोलाको किनारै किनार अगाडि बढ्यौँ। कहीँ कतै खोलाको ठूलो भेल देख्नै नहुने फोटो खिचिहाल्थ्यौ कतै जङ्गली फुल देख्नै नहुने टिपेर बोक्थ्यौँ। अनि गीतको भाका मिलोस् कि नमिलोस् गीत गाएर एक्लै नाच्न थाल्थ्यौँ। हामी स्पतन्त्र थियौँ, एकदमै जङ्गलमा डुली हिँड्ने स्वतन्त्र मृग झैँ। जब, विस्तारै अघि बढ्दै गयौँ त्यति नै बस्तिहरू पातलिँदै गयो, बाटोमा हिँड्ने मानिसहरू पनि पातलिँदै गए। सानैदेखि जूनबेँसी भन्ने ठाउँ चाहिँ सुनेको थिए। तर, यस्तो महामारिको समयमा त्यहाँ पुगिन्छ होला भनेर कल्पना पनि गरेको थिइन। केही फिरन्ते साथिहरूसँग सल्लाह भएपनि संयोग कसैको मिलेको थिएन। घरबाट निस्कने बेला कहाँ बस्ने, के गर्ने केही टुङ्गो थिएन तर, नभन्दै घरबाट हिँडेको दोस्रो दिन साँझ ५ बजे तिर जुनबेँसी पुग्यौँ। स्थानीयहरू नयाँ मान्छे देखेर होला बोल्न निकै अप्ठेरो मानेको महशुस भईरहेको थियो, जुनबेँसीमा प्राय होटलहरू बन्द थिए, खुलेका होटलहरू सुनसान थिए। जूनबेँसीमा केही सुरसार नभएपछि केही माथि एउटा घरमा मानिसहरू होटल बनाउनको लागि भौतिक निर्माणमा जुटेका रहेछन्। उहाँहरूसँगको भलाकुसारीपछि तेन्जि शेर्पा दाईको घरमा बस्ने निर्णय भयो। शेर्पा दाईको घरमा झोलाहरू बिसाएर एक–एक कप सू-चिया पियौँ र जुनबेँसी पुग्नु अघि बाटोबाटै देखेको झरना हेर्न लाग्यौँ। सोलुखोलाको किनारमा रहेको सानो अनि सुन्दर बस्ति जुनबेँसी, बस्तिको बीचमा रहेको बौद्ध गुम्बा र स्तुपाहरू अनि हरियाली दुबोले भरिएको खुल्ला चौर त्यही माथि घोडाहरू चरिहरेका। जुनबेँसी नपुग्दै पारी बाटै देखिने त्यो सुन्दर झरनाले जो कोहीको मन मोहित बनाउँथ्यो, त्यहाँ कहिलेनै पुगौँला जस्तो महशुस हुने भएकाले बाटो काटिएको पत्तै नहुने। झरनाको छेउको डाडाँमा बसेर जूनबेँसीसँग निकै भलाकुसारी गरियो। साँझ परेपछि तिब्बेटिएन सू-चिया पिउँदै अबेरसम्म तेन्जि दाईसँग गफियौँ। पहिले-पहिले नाम्चे हुँदै सगरमाथा आधार शिविरसम्म जाने बाह्य पर्यटकहरू धेरै आउने जुनबेँसीमा काठमाडौँको ठमेलमा जस्तै भिड हुन्थ्योरे पछि सल्लेरीसम्म मोटर बाटो आएपछि सबै पर्यटकहरू सल्लेरीबाट रिङ्मो हुँदै लुक्ला जान थालेका रहेछन्। आजकल निकै कम मात्रामा पर्यटकहरू यता आउँछन्, उनीहरूको अनुहार नदेखेको ६-७ महिनाबढी भएको तेन्जी दाईले सुनाए।
तेस्रो दिन
यात्राको तेस्रो दिन फेरी सोलु खोलालाई पछ्याउँदै माथि तिर लाग्ने सल्लाह भयो। बिहान सबेरै जाँदा भेडि गोठालोहरू सामान लिन तल आउने भएकाले उनीहरूले माथि पाटन (दुबोको घाँसे मैदान) सम्मको बाटो देखाई दिने तेन्जी दाईको छोरीले सल्लाह दिएपछि, हामी जसरी भए पनि भेडि गोठालोहरूलाई भेट्ने र उनीहरूसँग बाटो बुझेर पाटनसम्म पुग्ने योजना बनायौँ। बिहानैदेखि पानी परिरहेको थियो, सायद हिँडेदेखि हामीले घाम देखेका थिएनौँ, पानी निरन्तर परिहरेको हुनाले आकाश खुलेको थिएन, केही छिन् खुल्ला जस्तो भएपनि तुरुन्तै बादलहरूले ढाकि हाल्थ्यो। हिँड्न अघि केही सामान त्यहीँ छोडेर आवश्यक सामानहरूमात्र लिएर तेस्रो दिनको यात्रा शुरु गर्यौँ। बिहानको मौसम बाक्लो हुस्सु भित्र झमझम पानीमा रुझ्दै भिझ्दै हामी थुप्टान छोलिङ गुम्बा पुग्यौँ। काठमाडौं शहरबाट यति धेरै टाढा जङ्गलको बीचमा त्यति ठूलो गुम्बा देखेर हामी अचम्मित भयौँ। झट्ट हेर्दा नेपाली सेनाको ब्यारेक जस्तो देखिने यो गुम्बा सायद मैले अहिलेसम्म देखेको मध्ये सबैभन्दा ठूलो गुम्बा थियो। कोभिड -१९ सङ्क्रमण जोखिमको कारण त्यहाँ घुम्न जान निषेध गरिएको हुनाले भित्र जान पाएनौँ, बाहिर बाटै हेरेर फेरी अगाडि बढ्यौँ। पानी झमझ परिरहेको थियो मध्यान्नहमा हामी पाङकर्म गाउँ पुग्यौँ र त्यहाँका स्थानीयलाई माथिबाट गोठालो दाईहरू झर्नु भएनभको कुरा यकिन गरौँ। गोठालाहरू बिहानै झरेर, हामी पुग्नु अगाडीनै घोडामा सामान लिएर माथि फर्कि सकेका रहेछन्। पाङकर्म गाउँभन्दा माथि अरु बस्ति छैन भन्ने थाहा पाएपछि हामी अलमलमा पर्यौँ। केही माथि सम्म जाउँ न कतै भेडाहरूको बथान देखिन्छन् कि भनेर माथि डाडाँ सम्म गयौ, चारै तिर नियाल्यौँ तर टाढा-टाढा सम्म पनि जङ्गल र पहाड बाहेक केही देखिएन। पानी झन् ठूलो पर्न थाल्यो, हतारहतार टेन्ट राख्यौँ र केही समय आराम गर्यौँ। पानी तत्काल नै नरोकिने जस्तो लागेपछि चाउचाउ पकाउने कुरो भयो र चाउचाउ, चिउरा, विस्कुट खाँदै गीत गाउँदै बस्यौँ। पानी रोकिए पछि त्यस दिन फेरी जुनबेँसी आएर बस्यौँ।
चौथो दिन
जूनबेँसी आसपास र त्यो भन्दा माथिको भेगमा घुम्ने ठाउँ नभएकोले अब हाम्रो यात्रा रिङ्गमो गाउँ तिर मोडियो। यो नेपालको सबैभन्दा पुरानो ट्रेकिङ रुटको छोटो भाग थियो । धेरै वर्ष अगाडिदेखि दोलखाको जिरी, रामेछापको सिवालय, सोलुखुम्बुको जूनबेँसी, रिङ्गमो, नाम्चे हुँदै सगरमाथाको आधार शिविर सम्मको १९ दिने ट्रेकिङ गर्ने मुख्य रुट थियो। अब हामी त्यही रुटको छोटो भाग पछ्याउने निर्णय गर्यौँ। रिङ्गमो हामीलाई कताबाट कसरी जाने, कति समय लाग्छ भनेर थाहा थिएन, जूनबेँसी पनि हामी सुनेकै भरमा आईपुगेका थियौँ। तेन्जि दाई र उहाँको परिवार सँग बिदावारी हुँदै गर्दा त्यही कै आमाले केही हप्ता अगाडि बाटोमा भालुहरू भेटिएको सुनाउनु भयो। मन झसङ्ग भयो अनि त्यो सुनेर मलिन बनेको हाम्रो अनुहार देखेर होला, तेन्जि दाईले अलि परको दोबाटो सम्म पुर्याेई दिन्छु र बाटो पनि देखाएर फर्किन्छु भन्नु भयो। तेन्जीदाईले बीचबाटोसम्म पर्यामई दिने भएपछि हामी त्यहाँबाट विदा भयौँ। सोलुखोला तरेर वारि सलुङको उकालो डाडाँ चढ्दै गर्दा पटकपटक फर्की हेर्दै जुनबेँसीलाई विदा गरियो। बाटोमा घना जङ्गल र गोठालाले बनाएका सानो तिनो धेरै बाटोहरू थियो। यदि हामी दुई मात्र आएको भए जङ्गल काट्न निकै गाह्रो हुने रहेछ। बाटोमा तेन्जि दाईसँग त्यहाँका स्थानीय ठाउँहरूको बारेमा निकै मीठो गफ गर्दै आईयो। सलुङ डाँडामा आएर खाना खाईसकेपछि, तेन्जि दाईलाई धन्यवाद सहित विदा गर्ने सोचमा थियौँ तर रिङ्गमो नगएको धेरै भएको छ म पनि उतै जान्छु भन्नु भयो। त्यसपछि हामी तिनै जना रिङ्गमो तिर लाग्यौँ। तेन्जि दाईलाई पनि घुम्न निकै मन पर्ने रहेछ, उ बेला मनाङ, मुस्ताङ अनि सगरमाथाका आधार शिविरसम्म पुगेको भनेर सुनाउनु हुन्थ्यो। मुस्ताङको थकालिनी एकदमै मन पर्थ्यो, माया पनि गर्थि म केही समयको लागि यता आए मोरिले एर्कैसँग बिहे गरिछे भनेर बेलाबेलामा हामीलाई निकै हँसाउनु हुन्थ्यो। लगभग २७०० मिटरको उचाई, सोलुखोलाको सिरान हुँदै बादलभित्र लुकामारी गर्दै अगाडि बढ्दै बढ्यौँ। समय समयमा केही ठाउँमा घाँसे मैदानहरू भेटिन्थ्थे भने स्वतन्त्र रुपमा चरिरहेका मृगका बथानहरू हामीलाई देखेपछि भाग्दथे । यात्रा जति रोमाञ्चक थियो, त्यति नै जुकासँग जुध्दै थियौँ। दिउँसो ३ बजे तिर हामी रिङ्गमो गाउँ पुग्यौँ। रिङ्गमो पुगेपछि खाजा खाईयो र गाउँ डुल्न किस्कियौँ।
तेन्जि दाई साँझ परेपछि आफन्तको तिर बस्छु भनेर जुनबेँसी फर्किनु भयो। पर्यटकीय गन्तब्य भएर होला त्यहाँ होटलको व्यवस्था राम्रो थियो। बेकरी, क्याफे अनि स्विस सरकारले पर्यटकहरूको निम्ति बनाई दिएको निकै पुरानो स्थास्थ चौकी थियो। गाउँ वरपरको परिवेश, रहनसहन र मान्छेह निकै फरक अनि व्यव्थित लाग्यो। रिङ्गमो गाउँ प्रसिद्घ धार्मिक स्थल दुधकुण्ड तथा नाम्चे हुँदै सगरमाथासम्मको पद यात्रा गर्ने यात्रीहरूको प्रवेश द्वार हो। दुधकुण्ड जान सकिन्छ भनेर बुझ्दा तत्काल नजाँदा राम्रो हुने स्थानीयको सल्लाहपछि त्यसतर्फ लागेनौँ। केही समय पछि सल्लेरी जाने टाटा सुमो भेटियो, सोहि दिन राति ९ बजे तिर सल्लेरी आएर बस्यौँ।
पाचौँ दिन
चार दिनदेखि लगातार यात्रामा भएकाले पाचौँ दिन सल्लेरी आसपास मै घुमघाम गर्ने र सल्लेरीमै बसेर थकाई मार्ने कुरो भयो। मासिहरूको त्यति साह्रै भिड नभएकोले बजार घुमघाम गर्यौँ, मेमोरिका फाईलहरू ट्रान्सफर गर्यौँ र धेरै दिन पछि ईन्टरनेटको पहुँचमा पुगेकाले घरमा सम्पर्क गर्यौँ। मलाई जूकाले नमज्जाले टोकेको थियो र त्यसबाट एलर्जि शुरु भएको थियो भने भाईको खुट्टामा समस्या भएकाले उ राम्ररि हिँड्न नसक्ने भएको थियो त्यसैले पाँचौ दिन सल्लेरी मै बास भयो।
छैठौँ दिन
एक दिनको आरामपछि अबको यात्रा पत्तालेसम्म पुग्ने थियो तर ओखलढुङ्गा सम्म आउने कुनै गाडि थिएन, लकडाउनले गर्दा अत्यावश्यक सवारी साधान बाहेक केही चल्न दिईएको थिएन सल्लेरीबाट पत्ताले चाङ्गेस्थान सम्मको दुरी ३६ कि.मि. थियो। साल्मे बाट उकालै उकालो भएकोले हिँडेर एकै दिनमा पुग्न सकिँदैन थियो। त्यसपछि छोटोछोटो माध्यमबाट भए पनि पुग्नै पर्छ भन्ने अठोटको साथ हिँडियो । हिँडेको एक घन्टा पछि बिरामी लिन हिँडेको टेम्पो भेटियो र उसले चर्का भाडा दरमा प्रहरी चेक पोष्ट साल्मे सम्म पुर्यानई दिने भयो। हामीसँग अरु कुनै विकल्प नभए पछि साल्मेसम्म जान तयार भयौँ। सोलु हाइड्रो बन्दै गरेको साल्मे बजारलाई स्थानीयले निकै पुरानो बजारको रुपमा मान्दा रहेछन्। साल्मे पुगेपछि खाजा खायौँ, बिहान त्यस्तै ११ बजेको हुँदो हो। त्यसपछि केही समय अरु कुनै साधन भेटिन्छ कि भनेर कुरेर बस्यौँ। निकै समयको पर्खाईपछि तिङलासम्म सामान लिन जाने एउटा साधन भेटियो र त्यसमा चढेर तिङ्ला सम्म पुग्यौँ। न जाने कुनै निश्चित गन्तब्य, न समय मै पुग्नु पर्ने कुनै हतार, न कसैको डर न चिन्ता। हामी निस्फिक्री भौतारीदैँ थियौँ। तर चिसो मौसमको साथ नयाँ ठाउँको अवलोकन, फरक परिवेश र रहनसहनमा नयाँ मान्छेहरूसँग भेटघाट र उनिहरूसँगको भलाकुसारिले हाम्रो यात्रा निकै रोमाञ्चित हुँदै गईरहेको थियो। यात्रा अवधि भर विभिन्न खराब परिस्थितिको सामना गर्नु परे पनि नयाँ ठाउँ पुग्ने वित्तिकै सबै कुराहरू बिर्सिन्थ्यौँ र नयाँ समय, परिबेशको भरपुर फाईदा लिने कोशीस गर्यौँ। हामीले कहिले नदेखेका, थाहा नभएको कुराहरूको अनुभुति गर्न पाउँदा एक दमै भाग्यमानी मान्थ्यौँ। यात्रा अवधिभर मौकाले जे जसरी सवारी साधन भेटिन्थ्यो त्यो सबै हाम्रा यात्राको सहयोगी बने। तिङ्ला पुगेपछि हामी त्यही झर्यौँ र पत्ताले जाने बाटो सोधपुछ गर्यौँ। सल्लेरीमा बाटो नपुग्दा मान्छेहरू हिँड्ने पुरानो बाटो जादाँ पत्ताले छिटो पुगिने कुरा थाहा भएपछि त्यही बाटो जाने निर्णयका साथ हिड्यौँ। सोध्दै र खोज्दै हामी पत्ताले नजिक आईपुगियो। रोडको बाटो निस्केपछि फेरी घर बनाउन पानी लग्दै गरेको ट्यांक्टर भेटियो र पत्ताले धापसम्म ६ कि.मि. त्यसमै यात्रा गर्यौँ। बिहान ७ बजे सल्लेरीबाट शुरु भएको ३६ कि.मि यात्रा हिँड्दै, गुड्दै र हराउँदै साँझ ५ बजे तिर धाप पुगियो। ३१०० मि. को उचाईमा अवस्थित पत्ताले सगरमाथाको प्रत्यक्ष दृष्य अवलोकन गर्ने सबैभन्दा नजिकको भ्यू प्वाईन्ट हो। यहाँ ब्यवस्थित होटल र होमस्टेहरू प्रसस्तै छन् भने पि.के पिक पदयात्रा गर्ने यात्रीहरूको प्रवेशद्वार पनि मानिन्छ। पत्ताले पुगेपछि सधैँ झै ताक्षी दाईको होमस्टेमा गएर बसियो । प्राय हरेक वर्ष पत्ताले पुग्दा त्यहीँ बस्ने भएकोले राम्रै चिनजान थियो। लकडाउनमा पनि कसरी आईपुग्नु भयो भनेर आश्चर्य मान्दै हुनुहुन्थ्यो। केही समय त्यहाँ पुगेर विश्राम गरेपछि चाङ्गेथान मन्दिर तिर लाग्यौँ। साँझ फापरको ढेँडो, च्याङग्राको सुकुटी अनि लोकल टिम्बुरको अचार हिमाली भेगको एकदमै स्पेशल खाना खुवाउनु भयो। साँझसम्म भलाकुसारी भयो र छैठौँ रात पत्तालेमा बित्यो।
सातौँ दिन
अब हाम्रो मनसाय विस्तारै घर फर्किने थियो। बिहान सबेरै चाँङ्गेथान मन्दिर गयौँ, घाम झुल्कियो अनि घामको पहिलो किरणले सगरमाथालाई चुम्दा सुनको दाँत देखाएर सगरमाथा हाँस्न थाल्यो। विस्तारै दुध कुण्ड, आमादाब्लाम, नुप्चे हिमालहरूले साथ दिन थाले। हामी मन्त्रमुग्द भएर हेर्न थाल्यौँ । बिहानको चिसो मौसम, सिरसिर बतास अनि दुबोको घाँसे मैदानमा सुतेर सुनको दाँत देखाएर सगरमाथा हाँसेको हेर्दा हामीले आफैँलाई बिर्सिए छौँ। सहरको अस्तवेस्त कोलाहल, भिड र धुलोबाट धेरै टाढा, कसैको याद नै नआउने शान्त, तनावबाट मुक्त अनि त्यो जीवन्त समय।
बिहानको केही समय सगरमाथाको दृष्यावलोकन पछि ओखलढुङ्गा फर्किने तयारी भयो। केही छुर्पिहरू बोकीयो र लखर लखर पत्तालेबाट ओखलढुङ्गा हिँडियो। करिब दुई घन्टा हिँडेपछि धाप बजार पुगियो । त्यहाँ पुग्दा भुसिंगाबाट तरकारी लिएर आएको साधन भेटियो र त्यही साधनमा ओखढुङ्गासम्म झरियो । ओखलढुङ्गाबाट साँझ ६ बजे फलाँटे भञ्ज्याङ्सम्म जाने सुमो भेटियो र फलाँटे भञ्ज्याङ्को लागि यात्रा तय भयो। रातको १० बजे सानो फलाँटे बजारमा हामीलाई छोडेर सुमो श्रीचौर तिर लग्यो।
फलाँटे भञ्ज्याङ्मा यात्राकै सबैभन्दा कष्टकर रात बित्यो । त्यो चिसो, त्यसमाथि पानीको दलदल, न तेन्ट राख्न सकिन्थ्यो न होटल अनि त्यो सुनसान रात दनदन परिहरेको पानी….
आठौँ दिन
रातभरको चिसो, अनिन्द्राको कष्टकर रात फेरी कहिले नजाने वाचा, फेरी घुम्दै फिर्दै कुनै दिन पुगिएला । तर त्यो परिवेशको सम्झना भने मनमा सधैँ आईरहने छ। सन् २०२० मा कोभिड १९ को महामारिको बिच लकडाउन को बखत गरिएको त्यो यात्रा आठौँ दिन नवलपुर आएर सकिन्छ। लाग्दैथो एक हप्ता त उठिदैन होला भनेर …………………………..
निश्कर्ष
यात्रा अवधिभर हामीले जथाभावी फोहर गरेनौँ। हामीले प्रयोग गरेको प्लास्टिक जन्य फोहर ब्यवस्थित तरिकाले व्यवस्थापन गर्यौँ.। स्थानीय साँस्कृतिक, कला र संस्कारमा कुनै आचँ आउने काम गरेनौँ । स्थानीय खाद्य बुङको आलु, निगुरो, साग, कोदो र फापरका परिकारहरू खायौँ। स्थानीय ब्यक्तिहरू सँग भौतिक दुरीमै रहेर सम्वादहरू गरेका थियौँ। स्थानीय तेन्जि दाईको घरमा बास बस्ने मौका मिल्यो हामी उहाँप्रति आभार प्रकट गर्दछौँ ।
अन्तमा:
सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण गर्न एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी– सिवालय–जूनबेँसी र रिङ्मो हुँदै सगरमाथा आधार शिविर पुगेका रहेछन्। त्यसपछि उक्त ठाउँ स्वेदेशी तथा विदेशी पर्यटकहरूमा माझ पर्यटकिय ठाउँको रुपमा परिचित हुन थाल्यो जुन समय नेपाल सरकारले मनाङ र मुस्ताङलाई पर्यटकहरूको निम्ति घुम्नको लागि खुल्ला गरेको थिएन । विश्व प्रशिद्ध फिरन्ते भुगर्वविद टोनि हेगन पनि यहि जूनबेँसी हुँदै सगरमाथा आधार शिविरसम्म गएका थिए। शेर्पाहरूको सहयोगमा उनले माथिल्लो सोलुखुम्बु , ओलखढुङ्गा, भोजपुर र सुनकोशीको भूगर्वको वृत्तचित्र तयार पारेका थिए। समय सँगै विकासका लहरहरू देखिन थाले, पछिल्लो समय सोलुको सल्लेरीसम्म मोटर बाटो पुग्यो भने लुक्ला पुग्न केही दुरी मात्र बाँकि छ । स्थानीय बासिन्दाहरूलाई यसले धेरै फाईदा गरे पनि पर्यटकिय क्षेत्रमा भने निकै नराम्रो गरी प्रभाव पारेको छ । आजकल स्वदेशि तथा विदेशि पर्यटक वा फिरन्तेहरू कि सिधै लुक्ला सम्म हजाईजहाज बाट जान्छन् कि सल्लेरी सम्म सवारी साधनमा गई सगरमाथा आधार सिविरको लागि पैदल यात्रा शुरु गर्छन यस्ले गर्दा दोलखाको जिरी– रामेछापको सिवालय– सोलुखुम्बुको जूनबेँसी – रिङ्मो जस्ता विश्व प्रसिद्घ पर्यटकिय स्थानहरू ओझेलमा परेका छन् । जस्ले गर्दा पर्यटकहरूको नेपाल बसाई को दिन निकै छोटिदै गएको छ भने देशको पर्यटकिय आम्दानिमा पनि ठुलै ह्रास ल्याईदिएको छ। त्यही १९ औँ शताब्दिको पैदल यात्रालाई पछ्याउने क्रम मा जुनबेँसी , रिङ्मो र पत्ताले गाउँ को आसपास हप्ता दिन फिरन्ते भई दुलियो । अब ती पद मार्गहरू गोठालो हिड्ने बाटोमा परिणत भएछन्, होटलहरू विस्तारै घरमा परिण भएछन् अनि गाउँका मानिसहरू बिस्तारै बसाई सरि गएछन् । सायद फिरन्तेहरूले त्यो ठाउँलाई माया मारेर होला …………..।
खैर, कुनै समय घुम्दै फिर्दै फेरी जूनबेँसी आईनेछ। गुम्बा, पहाड ती नदि र हिमालसँग लगाइएको मितेरी साईनो अझै यादगर भएर बसेको छन् । फरक परिवेश अनि मानिसहरु सँगको भेटघाट र उनीहरुको सरल जीवन शैलीले म निकै प्रभावित भएको छु । तल्लो सोलुखुम्बुका धेरै पर्यटकीय गन्तव्यहरु प्रचारप्रसारको अभाव र समन्वयको कमीले ओझेलमा परेका छन् । दुधकुण्ड, जुननबेँसी र पिके डाडाँ जस्ता निकै रमणिय स्थानहरु सजिलै र सहज तरिकाले यात्रा गर्न सकिने स्थानहरु हुन् । स्थानीय सरकारहरुले पर्यटन प्रवद्र्घनका निम्ति केही योजनाहरु बनाए पनि त्यो प्रभावकारी हुन सकेका छैनन् । फिरन्तेको डायरी यहीँ समाप्त हुन्छ, भोजपुरको मुन्दुम यात्राका कथाहरु अर्काे अंशमा …………….