काठमाडौं । शान्ति मिसन जाने प्रहरीहरुको लागी लिइने परिक्षाको प्रश्नपत्र बाहीरिएको पाइएको हो । शान्ति मिसन जाने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकको परीक्षा लिएको थियो। प्रधान कार्यालयका अनुसार शनिबार बिहान लिन लागिएको परीक्षाअगाबै राति प्रश्नपत्र ‘लिक’ भएको थियो।
प्रहरी प्रधान कार्यालयले लिएको युएन शान्ति मिसनको परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको थाहा भएको छ।
प्रधान कार्यालयले गत शुक्रबार र शनिबार दुई चरणमा शान्ति मिसन जाने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकको परीक्षा लिएको थियो।
अपराध अनुसन्धान विभागले खबर थाहा पाएलगत्तै त्यो परीक्षा रद्द गरेर नयाँ प्रश्नपत्र बनाई परीक्षा लिएको थियो।
‘प्रिन्ट गर्ने क्रममा परीक्षा लिने दिन राति नै प्रश्नपत्र बाहिरिएको थाहा भएको छ,’ अपराध अनुसन्धान विभागका एक अधिकृतले भने।
२३ सय जना परीक्षार्थी सहभागी भएको परीक्षामा प्रश्नपत्र बाहिरिएको घटनापछि प्रधान कार्यालयले छानविन समिति गठन गरेको छ। प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त लामाको नेतृत्वमा छानविन समिति बनाइएको छ। मंगलबार गठित छानविन समितिमा एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर सदस्य छन्।
‘हामीले छानविन थालिसकेका छौं, के के भएको हो प्रतिवेदन बुझाउँछौं,’ लामाले सेतोपाटीसँग भने। प्रहरी महानिरीक्षकको सचिवालयले प्रश्नपत्र बाहिरिएको थाहा भएपछि छानविन समिति गठन भएको बतायो।
‘परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको कुरा आएलगत्तै हामीले नयाँ प्रश्नपत्र बनाएर परीक्षा लियौं,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने। शान्ति मिसनमा जाने प्रहरीहरूसँग युएन शाखाले परीक्षा लिन्छ।
स्रोतका अनुसार युएन शाखामा कार्यरत् कार्यालय सहयोगीले प्रश्नपत्र निकालेको थाहा भएको छ।
प्रश्नपत्र युएन शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर राणा बस्ने टेबुलको घर्रामा राखिएको थियो। चाबी राणा आफैंले बोकेको भए पनि ती कर्मचारीले अर्को चाबीले घर्रा उघारेर प्रश्नपत्र झिकेको बुझिएको छ। त्यो प्रश्नपत्र उनले एक जना हवल्दारलाई दिएकोसम्म थाहा भएको स्रोतले जनायो। तर, छानविन समितिले सत्य-तथ्य पत्ता लगाएपछि मात्रै भन्न सकिने प्रधान कार्यालयका एक अधिकारीले बताए।
सेतोपाटी