सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्युँतिएसँगै केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ ।
प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनित गर्नेछ ।
सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव छलफलका लागि तल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।
२०६५ सालको आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेको विधानमा पाँच उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र पाँच सचिव महाधिवेशनबाटै निर्वाचित हुने व्यवस्था छ ।
केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको नवौं महाधिवेशनबाट चुनिएका पदाधिकारीमा माधवकुमार नेपाल समूहको बहुमत छ । स्थायी कमिटीदेखि पोलिटब्युरोसम्म अल्पमतमा परेका उनले झण्डै दुई वर्षसम्म कमिटीहरुलाई वास्ता गरेनन् । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा आफ्नो पार्टीका महासचिव ईश्वर पोखरेललाई पञ्छाएर विष्णुप्रसाद पौडेललाई पार्टीको महासचिव बनाएका थिए ।
नेकपाको एकता खारेज भएर एमाले पुनर्स्थापित भएपछि उनले आफू पक्षीय नेताहरुको मात्र बैठक राखेर महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाउने निर्णय गराए । समानुपातिक सांसद हेरफेर, कारबाही, मनोनित सबै अधिकार आफूमा ताने । तर सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने गरी आदेश दिएपछि ओली १६ असारमा पुरानै कमिटीमा फर्किए ।
यो अवधिमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमतिको प्रयास पनि भए । २७ असारमा दुबै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले १० बुँदे सहमति पनि जुटयो । तर एकता प्रक्रियामा अलमल कायमै रहेपछि अध्यक्ष ओली विधान महाधिवेशन गर्ने तयारीमा जुटेका छन् ।
ओली पक्षले भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशन बोलाएको छ । त्यहाँ प्रस्तुत गर्ने प्रस्ताव छलफलका लागि तल्लो कमिटीमा पठाउन बनाएको विधान संशोधन प्रस्ताव सोमबार विहान स्थायी कमिटीमा पेश गरिएको थियो ।
एक स्थायी कमिटी सदस्यका अनुसार, स्थायी कमिटीमा अध्यक्ष र महासचिव मात्र महाधिवेशनबाट चुन्ने र बाँकी केन्द्रीय कमिटीबाट मनोनित गर्ने प्रस्ताव पेश गरिएको थियो । तर लगत्तै बसेको केन्द्रीय कमिटीबाट पास हुँदा महासचिव पद पनि मनोनितमा पुगेको छ । अब अध्यक्ष सहित २२४ जना केन्द्रीय सदस्य महाधिवेशनबाट चुनिनेछन् । बाँकी पदाधिकारी मनोनित हुनेछन् ।