काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रुपमा अघि बढ्ने निर्णय गरी पार्टीका कामहरुलाई अगाडी बढाएपछि एकताको च्याप्टर क्लोज भएको असन्तुष्ट माधव कुमार नेपाल पक्षले बताएको छ ।
नेपालपक्षका नेताहरुले पटक पटक पार्टीका अधिवेशन केन्द्रीत कामहरु नगर्न आग्रह गर्दै आएपनि वार्ताहरु चल्दै गर्ने, पार्टीका कामहरु अघि बढ्ने भन्दै संस्थापन पक्षले विधान मस्यौदाको काम अघि बढाएको छ । त्यस्तै वडातहमा अधिवेशनहरुको निम्ती प्रक्रिया पनि शुरू गरेको छ । ओलीको उक्त कदमले पार्टी पंंक्तिलाई निराश बनाएको नेपाल पक्षका नेता घनश्याम भुसालले बताए ।
उपमहासचिव समेत रहेका भुसालले सोमबारको निर्णय फागुन २८ कै निरन्तरता भएको बताए। उनले यस्ता निर्णयले पार्टी एकतामा कुनै योगदान नगर्ने समेत बताए।
भुसालले एकताको प्रयास चलिरहेका बेलामा भएको यस्ता एकलौटी निर्णयले एमाले कार्यकर्ता र शुभचिन्तकलाई समेत निराश बनाएको जिकिर गरे।
‘ओलीजीले फागुन २८ गते पार्टीको वैधानिक केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने ठाउँमा आफ्नो गुटको बैठक राखेर त्यसलाई पार्टीको बैठक भनेर घोषणा गरेपछि समस्या सुरू भएको हो। तसर्थ त्यहाँबाट उहाँ विभाजनमा अघि बढ्नु भएको हो,’
उनले भने, ‘हामीले त्यो बेलादेखि नै एकताका लागि प्रयत्न गरेको हो। यो बीचमा दस बुँदे सहमति भयो। दस बुँदेलाई लागू गर्न स्थायी कमिटीको बैठक अहिले रोकौं भन्दा उहाँले मान्नुभएन। त्यसप्रति उहाँको इमान्दारिता देखिएन।’
आफूहरू बैठक रोक्न बैठकस्थलमै गए पनि पार्टी अध्यक्षले नमानेको उनको भनाइ छ। साउन १ गते तुलसीलाल आमात्य स्मृति भवन च्यासलमा बसेको स्थायी कमिटी बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल, सचिवहरू गोकर्ण विष्ट, भीम आचार्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठक स्थल पुगेका थिए।
एकताको च्याप्टर क्लोज, देशव्यापी समानान्तर गतिविधिलाई तीव्रताः माधव नेपाल- एमालेले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।
पार्टीभित्र देखिएका विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता नेपालसहित उनी पक्ष असन्तुष्ट छ।
एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो।
यसपछि नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन्। ‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ। देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजोको निर्णयले पार्टी एकतामा बाधा पुर्याएको छ।’
यस्तै नेत्री रामकुमारी झाँक्रीले पनि यसबारे छोटो प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन्: १) शत्रुहरू, २) चाकरहरू. उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ। त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन।’