कुहिरोको सिरेटो बोकेर हिड्ने
बतासलाई सुटुक्क सुनाइ दिनू
अग्लो पहाडको निधारमा
पातहरुमा तलाएर म फुल्न लागेको छु ।
निलो दहको ज्वारले नुहाएको
निलै आकाश ओडेर
म क्षितिजभरि मुस्कुराउन थालेको छु
औ गोठाला दाजु !
तिम्रो लुकुनी र घुमराढी फुकालेर
एकै बिहान भलाकुसारी गरुँ न !
तिम्रा जोशिला आँतहरु
तिम्रा शक्तिशाली पाखुराहरु
कुम्लोमा पोको पारेर
म उँभो कञ्जनजंघातिर जान चाहान्छु
तिम्रो मुटुको भल्भ खुल्दा
इन्द्रेणीको सातै रङ्गको हँसियाले
म तिम्रै आयु छिमलिरहेको हुन्छु ।
डाँफे भीरमा बास बसेको आत्मालाई
तल तिम्बुङभित्र डुबाउनु
अनि तल निकासबाट इँवातिर हत्याउनु
सिमसिमे कञ्चन बुँदहरुले कुँदेका
भूइँफूलका बुट्टाहरुमा
म सेतो चाँदर ओडाउँछु
सायद नवदुलही बनेको मेरो प्रिय फालेलुङ
सिंहलिलाको विवाह मण्डपमा सँगै बसेर
समयचक्र झैं अग्निको सात फेरो घुमिरहेछ
चिमालका ससाना आँखाहरु
गुराँसका थुँगा शिरमा सिउरिएर
उता तावा नागीबाट रसाउने काबेली
उत्ता दूधपोखरीबाट फाल हान्ने टिष्टालाई
एकैछिन रोकेर उदाउँदो सूर्यलाई नमन गर
म सँधै स्फटिक फुलिरहन्छु
यही मेरो सन्देश तिम्रा लागि ।
धुपी सल्लामा तिम्रो जीवन लुक्न थालेपछि
दुलही बनेर रङ्गिन घुम्टीमा
तिम्रो आलिङ्गन माग्न आउँला
तिम्बुङको निलो गर्भमा एकैपटक डुबेर
न्यानो साझाघर बनाउँला
र माथि देवीथान थपना गरेर
चुली ढुङ्गो समातेर भाकल गरौंला
म कहिल्यै कस्तुरी पछ्याउँदिनँ
म कहिल्यै विखुमाको जरा काट्दिनँ
म कहिल्यै पाँचऔंलालाई हत्केलामा सजाउँदिनँ ।
हरेक बर्षामा तिमी मलाई भित्र्याउने छौ
म मकालु भएर तिम्रो आँगनमा फुल्नेछु
म कुम्भकर्ण भएर तिम्रो सिकुवामा फुल्नेछु
केवरा, इन्द्रकमल र चमेली फूल भएर
तिमीलाई मन परेको फूलबारीमा
सँधै सँधै फुलिरहनेछु
जून जस्तै शितल भएर
तारा जस्तै चम्किलो भएर ।
०
केन्जो
केन्जो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस