काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा नक्कली कोभिसिल्ड खोप पाइएको खुलासा गरेको छ। उसले भारतसहित युगाण्डामा पनि नक्कली खोप पाइएको दाबी गरेको छ। डब्लुएचओको दाबीमा खोप निर्माता सिरम इन्स्टिच्युटले पनि सहमति जनाएको छ।
खोपमा लेखिएको विवरणबाट खोप नक्कली भएको पुष्टि भएको सिरमले जनाएको छ। त्यसैगरी २ एमएल को नक्कली खोप पनि पाइएको छ। जसको उत्पादन आफूहरुले नगर्ने गरेको सिरमले जनाएको छ।
डब्लुएचओले जुलाई-अगस्टमा नक्कली खोप पाइएको जानकारी सार्वजनिक गरेको थियो। अहिले यो कुराको पुष्टि स्वयं कम्पनीले नै गरेको छ।
डब्लुएचओले नक्कली खोप बजारमा फैलिइसकेको भन्दै यो स्वास्थ्यका लागि खतरनाकसमेत बन्नसक्ने बताएको छ। तसर्थ उसले जतिसक्दो चाँडो बजारबाट यसलाई हटाउन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ।
डब्लुएचओले सम्पूर्ण स्वास्थ्य केन्द्र, सप्लायर्स तथा डिस्ट्रिब्युटर्सलाई पनि नक्कली खोपको कारोबार भइरहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। उसले सरकारद्वारा मान्यताप्राप्त र लाइसेन्स भएका वितरकहरुबाट मात्र खोप लिन आग्रह पनि गरेको छ।
गत जनवरीमा पनि नक्कली खोपको बारे समाचार सार्वजनिक भएका थिए। इक्वेडरमा एक निजी क्लिनिकले यस्तो नक्कली खोप लगाउँदै सर्वसाधारणबाट ठूलो रकम असुलेको समाचार बाहिरिएको थियो।