संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या छिमिकीबाटै भएको निष्कर्षमा प्रहरी पुगेको छ।गत आइतबार भएको उक्त हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन्। सुरुदेखि नै प्रहरीले उनकाे निगरानी गरिरहेको थियाे। उनले नै हत्या गरेको तथ्य पुष्टि भएको प्रहरीको भनाइ छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनलाई आजै खाँदबारी लाने तयारी छ।भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ। स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ज्यान लिइएको त्यो घटनामा ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्रै जीवित भेटिए।परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।कार्की परिवारका सदस्यहरुलाई लखेटी लखेटी हत्या गरेको प्रहरीले जनाएको थियो। एउटा शव बाटोमा, एउटा शव घरभित्र, दुईवटा शव बारीको कान्लामा र बाँकी दुईवटा शव खोल्सामा भेटिएका थिए।ज्यान गुमाएका सबैको पोस्टमार्टमपछि इटहरीमा दाहसंस्कार गरिसकिएको छ।