पाँचथर । पाँचथरको सदरमुकाम फिदिमको नगरपालिका वडा नम्बर ८ मा पर्ने पौवा भञ्ज्याङ् ८ हजार २ सय फिटको उचाइमा छ । यो मेची राजमार्गको सबैभन्दा अग्लो स्थानमा बनेको कालोपत्रे सडक पनि हो । पौवा भञ्ज्याङ् बजारबाट करीब २ किलो मिटरको दुरिमा रहेको साधुटार साच्चै नै सुन्दर पर्यटकिय गन्तव्य हो । चादी झै टल्किएका कंचनजङा र कुम्भकर्ण हिमालले अदभुत देखिएको साधुटार सरदरमुकाम फिदिम शिरमा हो ।
एउटा सानो टाकुराको नाम हो साधुटार। अब्बल गन्तव्य बनेको साधुटारमा फैलिएको फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास, राइनी र बुकी फूलसँगै रंगिचंगी फुल्ने लेकाली फूलको बास्नाले सजिसजाउ यो ठाँउ निकै मनमोहक छ। फराकिलो फाँटको बीचमा रहेको टिलपिल टल्किने पोखरीले साधुटारको सुन्दरतामा निखार ल्याएको छ।
छिमेकी जिल्ला इलाम, ताप्लेजुङबाट मात्र होइन झापाबाट समेत प्रशस्त पर्यटकहरु घुम्नकै लागि भनेर यहाँ आउने गर्छन।
चिसो शुरु भए संगै तुसारो र हिउमा पनि रमाउन सकिने साधुटार फराकिलो फाट र हरियाली धुपिका बोट अनि रमाइला थुम्का थुम्की पहाडले यहा आउनेले यहाँको सुन्दरतामा हिमाल झै पौडी खेल्ने कमै होलान । हिमालको नजिक रहेको साधुटार साँच्चिकै सुन्दर छ। यहाँबाट देखिने दक्षिणतर्फको तराईको फाँट अनि उत्तरतर्फ सेताम्मे हिँउले भरिएको हिमालको दृश्यले सबैको मन लोभ्याउँछ।
चौरको बीचमा रहेको पोखरीमा टल्कन्छ कंचनजङा हिमालको चित्र। पोखरीमै देखिन्छ सूर्योदयको अद्भुत दृश्य। पोखरीमै देखिन्छ सेताम्मे हिमालको तस्बिर। पोखरीमै देखिन्छ सूर्योदय अनि सूर्यास्त। पर्यटकको आगमनले यहाँका होटल व्यवसाय पनि प्रशस्त देख्न सकिन्छ ।
वरिपरि फुलेका सन्दर फुल अनि यहाँको सुन्दरतालाइ हरकोहिको मन मुक्त बनाइरहेको यस पर्यटकिय क्षेत्रमा बियरका बोतल,चाउचाउका खोलले यहाको सन्दरतालाइ खल्लो बनाएको देखिन्छ । मानव गतिबिधिले यहाँ सुन्दरतालाइ भबिश्यमा थप कुरुप बनाउन नसक्ला भन्न सकिन्न । यस तर्फ स्थानिय सरोकारवालाको ध्यान जान आवस्यक देखिन्छ ।