पाँचथर । दशै तिहार सकिने बित्तिकै अर्को महत्त्वपूर्ण पर्व छठको रौनक पनि आज बाट सकिएको छ । नदि किनारा विभिन्न घाटहरुमा मनाइने छठ लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ।
बिशेषगरि तराईमा मनाइने छठ पर्व अहिले सबैतिर मनाउन थालिएको छ ।
चार दिनसम्म मनाइने छठ पर्व पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।
परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठी माता र सूर्यदेवको पूजा अराधना गरी यो पर्व निष्ठाका साथ मनाइने गरिन्छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनाका साथै छठी माताको पनि पूजा गरिने भएकाले यस पर्वलाई छठ पर्व भनिएको हो ।
छठलाइ एकताको पर्व पनि भनिन्छ । सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाईचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। पहाड र राजधानी यति बेला छठमय भएको छ। बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम देखिन थालेको छ ।