गिरिराज बाँस्कोटा
गोरुवाले भन्ने ठाँउमा केहि दिनको बसाई भएको थियो । अधिकतर गुराँसको बनले घेरीएको गोरुवालेमा लेकाली दैनिकीमा अभ्यस्त हुन थालियो नै । पुषको महिनामा आगो ताप्दै चौरी र गोठका कुरा सुन्दै बस्नुको आनन्द छुट्टै । फोन पनि कम लाग्ने भएकाले बढो विन्दासको बसाई थियो । पाँचथरको फालेलुङ गाँउपालीका–६ मा पर्ने गोरुवालेमा केहि घर छन् । गोठ राख्दा राख्दै घर बनाउन थालियो । अहिले त बजार झै भएको छ । नजिकै इलामको सिमानामा जोडिन्छ । पाँचथर सदरमुकाम फिदिमबाट यहाँ सडक जोडिएपछि चहलपलह बढेको छ । इलामबाट पनि सडक जोडिएकाले गोरुवालेमा शहरका समाग्रि सहजै आईपुग्छन् । यहिजानेर होला बस्न उपयुक्त घरहरु यहाँ बनाईएका छन् । गोरुवालेबाट एकतर्फ उकालीदा सन्दकपुर र अर्कोतर्फ उकालीदा छिन्तापु पुगिन्छ ।
गोरुवाले बस्दा बस्दै छिन्तापु जाने योजना बनाइयो । खाना खाएपछि छिन्तापु हिड्ने योजना थियो । गोरुवालेमा घामले स्पर्स गर्दै गर्दा छिन्तापु पहाडमाथिको आकाश धुम्म देखिदै थियो । जे होला भनेर हाम्रो यात्रा सुरु भयो । फर्किएर गोरुवालेनै आउने भएकाले झोलामा खाजा, पानी र क्यामेरा थियो । गुराँस लगाएको बनको बिच बनाइएको सडकमा केहि समय हिड्यौँ । सडक छोडेर उकालीदै गर्दा पदमार्ग भेट्यौँ । यहाँको बन क्षेत्र हेर्दै लोभलाग्दो छ । ध्यान, तपश्या गरौँ वा केहिबेर यहि हराउन मन लाग्ने । चौरी तथा भेडागोठ औल झरेकाले चराहरुको आवजमात्र सुनिन्थ्यो । रेडपाण्डाको बासस्थान यो क्षेत्रमा गफिदै हिडियो । साथमा थिए संरक्षणकर्मी जिवन राई र गोरुवालेका दाई रामकुमार राई ।
ढुङ्गा छापेर बनाइएको पदमार्गको यात्रा सहजै थियो । बनक्षेत्र हेरीरहु लाग्ने । बाटो जिवन विरामी भएर फर्किए । यात्रामा रामकुमार दाई र ममात्र भयौँ । रामकुमार दाई कम बोल्ने । उहाँँसँग मेरो केहि बर्ष अगाडी सन्दकपुरसम्मको पनि यात्रा भएको थियो । उहाँले नयाँ कुरा देखियो कि चिनाई हाल्ने । गोरुवालेबाट नजिकै देखिएको छिन्तापु पहाड जति हिड्यो उति टाढा लाग्ने । प्राकृतिक सुन्दरताले यात्रा रोचकनै बनायो । तलबाट विस्तारै कुरीको तहले इलामका बस्तिहरु छोपिदै थियो । तालपोखरी भन्ने ठाँउमा पुगेर केहिबेर बस्यौँ । बढा गजब भयो यहाँ । हुरुरु कुहिरयो उडेर आएर पोखरीलाई छोप्थ्यो । फेरी हावाले उडाएर कुहिरोलाई लैजादा पोखरीमा हिमाल टल्कीने । कस्तो लुकामारी । जति उकालो गयो, यो क्रम उसरीनै देखियो । एकातर्फ बढो गजबले हिमाल खुलेको, अर्को तर्फ कुहिरोले छोपिरहेको । ड्रोन भएको भए दुबै तर्फको दृष्य निकाल्थे भनेर रोचे । रामकुमार दाईले ठट्टा गर्नु पर्यो ‘इलाम र पाँचथर यसरी छुट्छ । इलामतर्फ कुहिरो, पाँचथर तर्फ छ्याङ्गै ।’ इलाम र पाँचथरको सिमाना रहेछ । पानी ढलो पनि भनिन्छ । छिन्तापुको क्षेत्र फरकिलो रहेछ । ‘पैला तपाईहरु एकातर्फमात्र घुम्नु भयो । आज छिन्तापुको सबैतीर घुम्नु पर्छ’ दाईले भन्नु भयो, मैले समर्थन जनाए ।
छिन्तापुमा त अनेकन डाँडाहरु रहेछन् । बनपनि ठुलो । पटक पटक यो क्षेत्र पुगिरहने सुरेन्द्र राईका अनुसार गुराँस फूलेका बेला यो क्षेत्र रङ्गी विरङ्गी हुन्छ । गुराँसको बगैचानै भएको उनको भनाई छ । गुराँसका बोटहरु हेर्दा उनले भनेको सत्य भएको महसुस भयो । अनेकन पोखरी, थुम्कीला डाँडाहरुका साथमा आर्कषक भुगोल देखिने । यहाँबाट कञ्चनजंघा, कुम्र्भकर्ण लगायतका हिमालमात्र हैन् सगरमाथा मकालु हिमाल पनि देखिदो रहेछ । यता कुहिरो र घामको कलाकारीता उता टलक्क टल्एिका हिमाल । डाँडामा पुग्दा घामले ज्यान तातो भयो । दृष्यमा आखा लोभाए, मन आनन्द भयो । यहाँ बनाइएको पाउन घर जिर्ण भएर । सायद यहाँ कोहिपनि बसेन । यहाँ आउनेको बस्ने ठाँउ गोरुवालेनै हो । रामकुमार दाईले भने ‘पोहोर त बङ्गालीहरु डाडै भरी हुन्थे । यसपाली कोरोनाले खत्तम बनायो । यहाँ बस्ने तथा चिया पिउने ठाँउ तथा यहाँको प्रचार हुने हो भने विदेशीहरु धेरै आउँछन् जस्तो लाग्छ ।’ रामकुमार दाईले भनेजस्तै यो सम्भावना बोकेको पर्यटकिय गन्तव्य रहेछ । यहाँ ठाँउ ठाँउमा पुँजा गर्ने ठाँउ रहेछन् । यसले पनि धार्मिक महत्व जगायो । बंगाली पर्यटकले अनेकन सामाग्री यहाँ ल्याएर राखेको देखियो ।
हामी छिन्तापुका डाँडा डाँडा घुम्न थाल्यौँ । जति हिड्यो उति रमाइलो । ठाँउ ठाँउमा बस्ने ठाँउ रहेछन् । पछिल्ला पल्ट दुई बर्ष अगाडी म छिन्तापु पुगेको थिए । पाँचथरको पौवाभञ्याङबाट पदयात्रा गर्दै सन्दकुपर जाने शिलशिलामा पुगिएको थियो । साझ पर्न लाग्दा पुगिएको छिन्तापुको सुर्यास्त लगाएका दृष्य लोभलाग्दा थिए । एकापटिमात्र घुमिएको रहेछ त्यो बेला । पाँचथर र इलामको सिमानामा रहेको यो छिन्टापुको बहुआयमिक विशेषता रहेछ । छिन्तापुबाट टाढा टाढाको दृष्य देखिदो रहेछ । उभिएर विभिन्न ठाँउ ठम्याउदा निक्कै समय गयो । छिन्तापुको गोरुजुरे भन्ने ठाँउबाट दृष्य अनेकन देखिन्छ । छिन्तापु पोखरीको दृष्य सुन्दर थियो । छिन्तापुको अग्लो स्थान समुद्र सतहदेखि ३ हजार २ सय ४० मीटर उचाईमा पर्दो रहेछ । यहाँ परेवा ढुङ्गा भनिन्दो रहेछ । ढुङ्गाको आकृती बढो आर्कषक लाग्ने । यहाँ पुग्दा आफूमाथि आकाशमात्र भएको अनुभव भयो । यहाँ पुजा गर्ने ठाँउ बनाइएको रहेछ । महागुरु फाल्गुनन्दले यहाँ आएर ध्यान, तपश्या तथा पुँजा गरेको बताईन्छ ।
‘पर्यटकिय स्थलको रुपमामा छिन्तापु महत्वूर्ण छ । यहाँ अनेकन विशेषता छ । छिन्तापुले पाँचथर–इलामबा विभिन्न क्षेत्र समेट्छ’ जिल्ला समन्वय समिति पाँचथरका उप–प्रमुख तथा छिन्तापु नजिकका बासिन्दा डिल्लिराम दुलाल भन्छन् ‘प्राकृतिक रुपमा सौन्दर्यताले भरिएको यो ठाँउ विभिन्न विशेषताका कारण महत्पूर्ण रहेको छ ।’
यो ठाँउ जैविक विविधताको हिसाबले पनि महत्वपूर्ण रहेको छ । यहाँ अनेक प्रजातीका गुराँसमात्र छैन् अन्य वनस्पती पनि छन् । संरक्षणकर्मी जिवन राईका अनुसार यो ठाँउ बन्यजन्तु र बनस्पतीको हिसाबले महत्पर्ण रहेको छ ।
रामकुमार दाइ र मैले डाँडामा बसेर खाजा लगिएको रोटि खायौँ । कस्तो आनन्द लागेको । म त डाँडामा केहि बेर सुते । दाईले यहाँको अनेक विशेषता सुनाउनु भयो । केहिलाई म्यासेज लेखेर सम्झना सुनाईयो । अर्थात छिन्तापुबाट सम्झना गरीयो । हामी फर्किदासम्म एकापटि हिमाल र अर्कोपटि कुहिरो देखिरहेको थियो । दिन ढल्दै जादा सिरेटो चल्न थाल्यो, अनि हामी गोरुवाले तर्फ फर्कियौँ ।