काठमाण्डाैं ।प्रदेश २ मा आफ्नो नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसले आज (मंगलबार) निर्वाचन प्रक्रिया सुरु गर्दै छ।कांग्रेसको ७२ सदस्यीय प्रदेश समिति चयन गर्न आज जनकपुरधाममा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। जनकपुरस्थित गोपालधर्मशालमा बिहान ११ बजेदेखि मनोनयन दर्ता हुने पूर्व तालिका रहे पनि केही क्षेत्रबाट मतदाता नामावली आइनसकेकाले समय केही पर सर्न सक्ने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए।
भोलि बुधबार मतदान हुने उनले जानकारी दिए।
देउवा र निधि पक्षका दुई उम्मेदवार प्रतिस्पर्धामा
पार्टी नेतृत्वले प्रदेश २ मा सर्वसहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार रौतहट जिल्लाका सभापति कृष्ण यादव र हालै सभापतिमा नराम्ररी हारेका पूर्वउपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
दुवै पक्षले आफ्नो दाबी नछाडेपछि निर्वाचन गरेर नेतृत्व छनोट गर्ने तयारी कांग्रेसले गरेको हो।
प्रदेश २ मा देउवाको उम्मेदवारलाई जित्न नदिन शेखर कोइराला पक्षले निधिका उम्मेदवार रामसरोज यादवलाई समर्थन गर्ने जनाएको छ। तर औपचारिक घोषणा भने भएको छैन।