पाँचथर । तल बगेकी कोकाह नदी ,माथी हरियाली फाटको बिचमा अवस्थित बिष्णु अवतारको तेस्रो रुप बराहक्षेत्र धाम, धर्तिकै पहिलो तिर्थको रुपमा रहेको छ । यो धाम अत्यन्तै पबित्र धामको रुपमा लिइन्छ । पृथ्वी अनन्त आकाश सागरमा लुप्तभएको बेला भगवान बिष्णुले ब्रम्हाजिको नाकबाट बराहरुप धारणगरी रसातलमा हराएको पृथ्वीको उद्धार गरी शेषभित्र अड्याएर बराह स्वरुप बिष्णु भगवानले उद्धार गरेको भएर यस भुमिको नाम बराहक्षेत्र रहन गएको हो । बराहक्षेत्र सुनसरी जिल्लामा अवस्थित नेपालकै सर्वाधिक प्रख्यात तिर्थस्थल हो ।
ब्रह्मपुराण, बराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको छ । यो स्थान नेपालको सबैभन्दा पुरानो देवस्थल हो । बराहक्षेत्रमा बराहअवतार विष्णुको पूजा गरिन्छ । यो तिर्थ स्थल सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ । बराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो । वि.सं. १९९० सालको भूकम्पबाट मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले पुनर्निर्माण गराएका थिए । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका नौँ वटा मन्दिर र थुप्रै धर्मशाला रहेका छन् । आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पनि रहेका छन् ।
हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये दुई भारतमा र दुईवटा नेपालमा रहेका छन् । भारतमा कुरुक्षेत्र र धर्मक्षेत्र नेपालमा बरहाक्षेत्र र मुक्तिनाथ छन् । भगवान विष्णु, बराहको अवतार लिएर आफ्नो लामो दाँतमा पृथ्वीलाई राखेर पातालमा डुब्नबाट बचाए । भगवान विष्णु आफ्नो अर्धांगिनी लक्ष्मीसँग हिमालय र पहाडको बेंसीमा कोशी नदीको किनारमा बसे । त्यहाँ भगवान विष्णुको बराहअवतारको ठूलो र सुन्दर छवि रहेको छ । हिन्दु धर्मावलम्बीले मात्र होइन किराताकाल छैटौ राजा जितेदास्तिले यो भुमिमा पुजाआजा गरेको किम्बदन्ती रहेको छ । त्यसै गरेर लिम्बुहरुको इतिहासमा पनि बराहक्षेत्रको बर्णन गरेको हुनाले अहिले ढुङ्गाको मुर्तिमा आङ्बोहाङ जातिले मन्दिर बनाउदै गरेका छन् ।
बराहक्षेत्रमा वर्षभरी नै मानिसहरूको आवतजावत र जमघट हुन्छ । ठूलाठूला मेलाहरू कार्तिक पूर्णिमा र मकर संक्रान्तिमा लाग्ने गर्छन । मेलामा भारत र नेपालको पहाडी भागबाट मानिसहरु आउने गर्छन् । यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रशस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन् । बालाचतुर्दशिमा गंगा आरतीपनि हुन थालेको छ । बराहक्षेत्रको पावन भुमिमा बगेकी कोकाह नदीको पनि छुट्टै बिशेषता रहेको छ ।
पर्यटकको ठूलो चहलपहल हुने यस क्षेत्रमा सडकयात्रा तथा चतराबाट जलयात्रा पनि गर्न सकिन्छ । धार्मिक तथा घुमघाम गर्न आउने पर्यटकले भरिभराउ यो क्षेत्रमा होटलको त्यति राम्रो व्यबस्था हुन सकेको छैन । पूर्वी नेपालमा बराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्ने हो भने लाखौको संख्यामा बाह्य भारतीय पर्यटक भित्याउन सकिन्छ । बराहक्षेत्र नजिकैको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण छ । बराहक्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरूले समेत धार्मिक पर्यटनलाई तानिरहेको छ । यस तर्फ सबैको ध्यान जान आवश्यक देखिन्छ।